बनेपा / उर्मिला सापकोटा स्मृती डाँडापारी पत्रकारिता पुरस्कार –२०८२ कान्तिपुर टेलिभिजनका काभ्रेपलाञ्चोक संवाददाता पुजन धिताललाई प्रदान गरिएको छ ।
पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर गरेर त्यहाँको विकासमा भुमिका खेलेबापत नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले उनलाई सम्मान गरेको हो । पुरस्कारका संरक्षक एवं स्वर्गिय सापकोटाका पिता गोपालकृष्ण सापकोटाले उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेका हुन् ।
२०६६ साल फागुन १५ गते घरबाट ललितपुरको गोटिखेलस्थित क्याम्पस अध्ययन गर्न जाने क्रममा सवारी दुर्घटनामा परी उर्मिला सापकोटाको निधन भएको थियो । उनको स्मृतिमा बाबु गोपालकृष्णले १ लाख राशीको अक्षयकोष स्थापना गरेका थिए । प्राप्त व्याजबाट हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । पुरस्कारबाट हालसम्म जिल्लामा कृयाशील १४ जना पत्रकार सम्मानित भइसकेका छन् ।

सापकोटाले दुर्गम भूभागका समस्या उजागर हुने विश्वासका साथ पत्रकारिता पुरस्कार स्थापना गरिएको र यसले सो क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरे ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले यस्ता पुरस्कारले लेखनमा हौसला मिल्ने बताए ।
नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका अध्यक्ष नगेन्द्र अधिकारीले पत्रकारिता क्षेत्रको सम्मानको लागि पुरस्कार स्थापना गर्ने परिवारलाई आभार प्रकट गरे ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमिल्सना, बद्रिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष रामप्रसाद ढकाल लगायत जिल्लामा कृयाशिल सञ्चारकर्मीको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस