कांग्रेस उम्मेदवार गुणराज मुक्तानले जेन्जी युवासंग गरे विकास र सुशासनको प्रतिवद्धता

नौलो समाचार संवाददाता
२०८२ फागुन १६, शनिबार मा प्रकाशित ५५ पटक पढिएको

कांग्रेस उम्मेदवार गुणराज मुक्तानले जेन्जी युवासंग गरे विकास र सुशासनको प्रतिवद्धता

पनौती / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानले जेन्जी युवासंग विकास र सुशासनको प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिवार पनौतीमा आयोजना गरिएको जेन्जीसंगको प्रत्यक्ष संवादमा उनले जेन्जीका सवाल, समस्या र समाधानका उपायबारे जेन्जी समुदायसँगै उक्त प्रतिवद्धता जनाएका हुन् ।

उनले नवयुवाको चासोमा कांग्रेसले गरेको प्रतिज्ञाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै आफ्नो सोच, धारणा र प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले नवयुवाले भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शीता, रोजगारी, सहभागिता राजनीतिक दलहरुको जवाफदेहीता, नातावाद र कृपावादको अन्त्य, शिक्षा र स्वास्थ्यको महंगी नियन्त्रण खोेजेको भन्दै त्यसमा नेपाली कांग्रेस र आफू प्रतिवद्ध भएको बताए ।

कार्यक्रममा सहभागी जेन्जी युवाहरुले विकास र सुशासनको लागि कांग्रेस र मुक्तानको धारणा खोजेका थिए । युवाहरुलाई रोजगारी, निर्वाचन क्षेत्रका धार्मिक, साँस्कृतिक र आध्यात्मिक बिषयमा नवयुवाहरुले प्रश्न गरेका थिए ।

चौरीदेउरालीका जेन्जी युवा अनिल गौतमले आफ्नो गाउँपालिकामा खानेपानी, सिंचाईको समस्या समाधान गर्न मुक्तानको धारणा मागे ।

तेमाल गाउँपालिका स्थायी घर भएकी बाइक रेसर निमा डोल्मा लामाले साहासिक खेलको लागि मैदान अभाव भएको भन्दै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राख्न अनुरोध गरे ।

पनौती नगरपालिका वडा नं ९ का दिपन तिमल्सिनाले अहिलेको समय प्रविधी, एआई, नवप्रवर्तन भएको भन्दै प्रविधीसहितको शिक्षा दिनुपर्ने बताए ।

बेथानचोक गाउँपालिका वडा नं ६ का ऋषि थापाले यस्ता कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्दै जेन्जी आन्दोलनका राजनीतिक दलहरुले गरेको गल्तीबारे प्रश्न गरेका थिए ।

जवाफमा कांग्रेस उम्मेदवार मुक्तानले निर्वाचन क्षेत्रका सबै पालिकामा आवश्यकता पहिचान गरी समान विकास गर्ने बताए । उनले निर्वाचन क्षेत्रमा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताए । उनले संसदमा सशक्त आवाज उठाउने गरी आफूले भूमिका खेल्ने बताए ।

जेन्जी आन्दोलनबारे नेपाली कांग्रेसले आफ्नो धारणा विभिन्न माध्यमबाट स्पष्ट पारिसकेको भन्दै उनले गल्ती भएको स्वीकार्दै सुधारिने प्रण गर्ने कांग्रेस एकमात्र पार्टी भएको तर्क गरे । विकास, सुशासन र सामाजिक न्यायको सवाल बोकेर निर्वाचनमा होमिएको बताउँदै मुक्तानले जेन्जी आन्दोलनको भावना अनुरूप पार्टी भित्र पनि रूपान्तरण गर्न सफल भएको बताए । युवा उमेर समूहको प्रतिनिधित्व गर्ने मुक्तानले जेन्जी नवयुवाले उठाएको सुशासन, युवा प्रतिनिधित्व र रुपान्तरणको अजेण्डाबारे आफु र पार्टी प्रतिवद्ध भएको जानकारी दिए । नवयुवाका सवाल नीतिगत रुपमा नै स्थापित गर्न संसदमा आफ्नो उपस्थिति अनिवार्य भएको भन्दै उनले मत दिएर विजयी बनाउन अनुरोध गरे ।

नवयुवाका सवाल र समस्या समाधान गर्नको आफू प्रतिवद्ध भएको भन्दै निर्वाचन क्षेत्रका जेन्जी मतदाताबारे अन्तरक्रिया गरेको बताए ।

प्रतिक्रिया दिनुहोस