मेरो आँखामा रङ्गिन संसार बसायौ
मनभित्र मायाको भाव पनि पसायौ
देखाएको मात्रै हेर्ने सोझो मलाई
मीठा मीठा कुरा गरी फसायौ ।
श्यामश्वेतको होइन जमाना रङ्गिनको आयो
रङ्गिविरङ्गि यो जगतले रङ्गहिन सबै खायो
मैले त आफ्नो इमान पनि सकिन देखाउन
मानिसका सुन्दर लाग्ने झूट संसारभरि छायो ।
कति जल्छौ जल्नुको पनि सीमा हुन्छ
कति छल्छौ छल्नुको पनि सीमा हुन्छ
षडयन्त्रको तानाबाना बुन्दै सधैं
कति चल्छौ चल्नुको पनि सीमा हुन्छ ।
जहिल्यै स्वार्थको कनिका छर्दै हिंड्छौ
आफ्नै मात्र झोली सदैव भर्दै हिंड्छौ
घरभित्रको देउटालाई बृद्धाश्रम पठाएर
ढुङ्गोको देउतालाई पूजा गर्दै हिड्छौ ।
जहिले पनि आफ्नै मात्र स्वार्थको घडा भर्यौ
आफ्नो स्वार्थ पूरा गर्न हामीलाई सधैँ प्रयोग गर्यौ
निर्दोष हाम्रोमन लाई मतलबको पिँजडामा कैद गर्न मुस्कुराउँदै जताततै गुलियो विष तिमीले छर्यौ ।
-सूर्यप्रसाद लाकोजू, पनौती
प्रतिक्रिया दिनुहोस