अझै तीन दिन देशभर पानी पर्ने सम्भावना

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित ५९४ पटक पढिएको
अझै तीन दिन देशभर पानी पर्ने सम्भावना

बैशाख १४, काठमाडौँ । केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी-अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताए।

उनका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ।

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्दछ। अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो।

प्रिमनसुनको समयमा पनि पर्याप्त वर्षा भइरहेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको बताइएको छ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।


प्रतिक्रिया दिनुहोस