पनौती घटना अपडेटः प्रशासन र आफन्तबीच तीन बुँदे सहमति

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित १२२१२ पटक पढिएको
पनौती घटना अपडेटः प्रशासन र आफन्तबीच तीन बुँदे सहमति

चैत ४, काभ्रे । काभ्रेको पनौती नगरपालिका–५ बसपार्कमा हिजो (सोमबार) अपराह्न टिपरको ठक्करबाट दुई जनाको ज्यान गएपछि भएको अनिश्चितकालीन कर्फ्यू र झडप लगायतका तनाब साम्य भएको छ ।

आज मृतकका आफन्त र प्रशासनविच जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बसेको सर्वपक्षीय बैठकमा तीन बुदे सहमती भएको छ ।

पनौती नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपाने, संघीय सांसद गंगा बहादुर दोङ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सहित मृतक पक्षको आफन्त बीचको बैठकले तीन बुदाँमा सहमति गरेको छ । मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैँ सम्मको कानुनी कारबाही गर्ने र श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति भएको पनौतीका नगरपालिकाका नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै मृतकको पोष्टमार्टम गर्ने र आफन्तको जाहेरी प्रहरीले बुझिलिने पनि सहमति भएको छ ।

तीन बुदे सहमती संगै आज विहान ९ बजेदेखी पनौती बसपार्क क्षेत्र आसपासमा लगाईएको अनिश्चितकालीन कर्फ्यू पनि हटाईएको छ ।

पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न बा ५ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्री खानीखोला गाउँपालिका वडा नम्बर १ स्थित श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षिया छोरी स्मारिकाको दुवैको घटनास्थलमा मृत्यु भएको थियो ।

बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा(छोरी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

जुनीमाया र उनका छोरी स्मारिकालाई ठक्करदिने टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस