काभ्रेको पनौती नगरपालिकाले फूड बैंक सञ्चालन गर्ने, ९ नम्बर वडामा आपूर्ति व्यवस्थापन समिति गठन

नौलो समाचार संवाददाता
२०७६ चैत्र १९, बुधबार मा प्रकाशित १०६२ पटक पढिएको
काभ्रेको पनौती नगरपालिकाले फूड बैंक सञ्चालन गर्ने, ९ नम्बर वडामा आपूर्ति व्यवस्थापन समिति गठन

चैत १९, काभ्रे । काभ्रेको पनौती नगरपालिकाले फूड बैंक सञ्चालन गर्ने भएको छ । आज बुधबार बसेको नगर स्तरीय विपद् ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस महामारीको विपद्का कारण दैनिक हातमुख जोर्न समस्या रहेका मध्ये वडाले पहिचान गरेका परिवारलाई राहत उपलब्ध गराउन फूड बैंक स्थापना गर्ने निर्णय गरिएको नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए ।

बैठकले आफ्नो वडाभित्र दैनिक गुजारा चलाउन नसक्ने वास्तविक पिडितहरुको तथ्याङ्क जतिसक्दो छिटो गर्न पनि वडाध्यक्षहरुलाई निर्देशन दिएको छ । हरेक वडालाई सहयता दिन तयार कुनै पनि संघ, संस्था, निकाय र ब्यक्तिको समेत सूची बनाउन समेत भनिएको छ ।

यसैविच पनौती नगरपालिका वडा नम्बर-९ ले आपूर्ति व्यवस्थापन समिति गठन गरेको छ । वडा अध्यक्ष शहकुलकुमार हुमागाईको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

बैठकले नगर व्यवस्थापन समितिको निर्देशन अनुसार वडा भित्रका १० जना अति बिपन्न परिवारको लगत २ दिनभित्र संकलन गरि नगरपालिका पठाउने, दैनिक उपभोग्य सामग्री तथा दुग्ध जन्य संकलन वितरण गर्दा अपनाउनु पर्ने सजगताका बारेमा सुचना प्रकाशित गर्ने, मादक पदार्थ ओसार-पसार तथा बिक्रीवितरण बन्द गर्न स्थानीय प्रहरीचौकीमा अनुरोध गर्ने, चिया पसल नखोल्न र लकडाउनलाइ पूर्ण पालना गराउन वडाबासीहरुमा अनुरोध गर्ने, वडा भित्रका किराना पसल बिहान ७ बजे देखि १० बजेसम्म र दिउसो ३ बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न दिने लगायतका निर्णय भएका छन् ।

शहकुलकुमार हुमागाईं संयोजक रहेको समितिमा सदस्यहरु शुभद्रा हुमागाई, सुन्दरी रम्तेल, मधुकृष्ण श्रेष्ठ, मुकुन्दप्रसाद सापकोटा, सहकारीकर्मी यज्ञप्रसाद हुमागाई, उद्योग बाणिज्य संघका पारश श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका ईश्वरबहादुर भण्डारी, पत्रकार अशोक महत, पनौती प्रहरीचौकीको तर्फबाट मिनबहादुर थापा, आपूर्तिकर्ता धनदाश विजुक्छे तथा कृष्णदाश विजुक्छे र वडाका सचिव गोपाल खड्का रहेका छन् ।

नगरस्तरीय विपद् ब्यवस्थापन समितिले वडाभित्र सहायताको नाममा आफुखुशी चन्दा उठाउन नदिने र आफुखुशी सहायता वितरण गर्न नदिन वडामा रहेको विपद् ब्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

बैंकमा संघसंस्था, ब्यक्ति वा अन्य निकायले नगरपालिकाको मापदण्डभित्रका दैनिक उपभोग्य वस्तु संकलन गर्न पाउने छन् । फूड बैंकमा खाद्यान्नसँगै साबुन, सेनीटाईजर, मास्क जस्ता स्वास्थ्यका लागि चाहिने सामान समेत सकंलन गर्न पाइने छ । फूड बैंक ब्यवस्थापनका लागि बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई संयोजक तोकिएको छ । फूट बैंक ब्यवस्थापन समितिमा अधिकारी सहित अन्य ४ जना सदस्य छन् । इन्द्रेश्वर प्राथमिक विद्यालयको भवनमा फुड बैंक रहनेछ ।

बैठकले मानिस बीच सानिसको दुरी १ मिटर कडाइ साथ लागु गर्न पनि भनेको छ । दुध संकलन गर्दा साबुन वा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।

?

?

?

प्रतिक्रिया दिनुहोस