काठमाडौंबाट काभ्रे भित्रिएकाहरू सीधै घरमा, बसेनन् क्वारेन्टाइनमा, निर्वाद भेटघाट र घुमफिर

नौलो समाचार संवाददाता
२०७७ बैशाख १३, शनिबार मा प्रकाशित ५७९ पटक पढिएको

काठमाडौंबाट काभ्रे भित्रिएकाहरू सीधै घरमा, बसेनन् क्वारेन्टाइनमा, निर्वाद भेटघाट र घुमफिर

वैशाख १३, काभ्रे । लकडाउनले चुल्हो बाल्न नसक्दा राजधानीलगायतका सहरबाट हजारौं मजदुर पैदलै घर फर्के । उनीहरू खाली खुट्टा र भोकै सयौं किलोमिटर पार गरिसकेपछि कतिपय स्थानीय तहले गाडीको व्यवस्था गरी घर फर्काउने अभियान थाले ।

पछिल्लो साता जनप्रतिनिधिबीच गाडी व्यवस्थापन गरेर घर फर्काउने होड नै चलेको छ । बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने भने पनि गाडीबाट फर्केकाहरू निस्फिक्री घुम्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

काभ्रेमा लकडाउन लम्बिएपछि खान, बस्न समस्या भएर गाउँ फर्किएकाहरू ‘अनुशासन’ मा बसेका छैनन् । सहरमा एउटै कोठामा खुम्चिएर बसेकाहरू गाउँ फर्किन पाएपछि खुला महसुस गर्दै क्वारेन्टाइनमा नबसेका हुन् । भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले आफूखुसी फर्कनेका कारण संक्रमणको जोखिम बढेको बताए । ‘गाउँपालिकाले कसैलाई पनि उद्धारको नाममा गाउँ भित्र्याएको छैन, आफूखुसी आउनेले मनलाग्दी गरेर सबैलाई सिध्याउने भए,’ कुँवरले भने, ‘खसी काट्याछन्, तास खेल्ने, समूह बनाएर फुटबल, भलिबल खेल्ने गर्दै आएका छन् । हामी सचेतना फैलाउन एकातिरबाट माइकिङ गर्दै जान्छौं, उनीहरू अर्कोतिर बिगो गरिहाल्छन् ।’ गाउँपालिकामा ३० बेडको क्वारेन्टाइन तयार गरिए पनि प्रयोगमा आएको छैन ।

पाँचखाल नगरप्रमुख महेश खरेलले फर्कनेको कुनै तथ्यांक राख्न नसकिएको भन्दै दल र भ्रातृ संस्थाका नाममा गाउँ फर्काउने प्रतिस्पर्धा नै चलेको बताए । ‘त्यसरी आउने कसैको पनि रेकर्ड छैन, राजनीतिक लाभका लागि गाउँ फर्काउने प्रतिस्पर्धा भयो,’ खरेलले भने, ‘वडामार्फत व्यवस्थित गर्न भनेका छौं, सेल्फ क्वारेन्टाइनमा बसेर सुरक्षित हुनुको विकल्प छैन ।’ रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डीबी) लामाले दबाब खेप्न नसकेपछि जोखिम मोलेर भए पनि गाउँ फर्काउन लागिएको बताए । ‘छिमेकी सबै पालिकाले ल्याइसके, तपाईंहरू किन नल्याउने भन्दै चर्को दबाब आएपछि ल्याउन लागेका छौं,’ लामाले भने, ‘८ सय ६२ जनाको सूची बनेको छ, सामान्य स्वास्थ्य जाँच गरेर ल्याउँछौं, होम क्वारेन्टाइनमा बस्न भनेका छौं ।’

घर फर्काउने बेला ज्वरो नापेर पठाउने गरे पनि त्यसपछि निगरानी गर्ने अवस्था छैन । सीमित स्वास्थ्य जनशक्तिका कारण गाउँ पुगेकालाई निगरानी गर्ने अवस्थामा स्थानीय तह नहुँदा जोखिम बढिरहेको छ । ‘हामी त गाउँमा सुरक्षित नै छौं भनेर बसेका थियौं । सहरबाट ह्वारह्वार्ती आउन थाले, अब के हुने हो थाहा छैन,’ नाम खुलाउन नचाहने ती वृद्धले भने,

‘आफ्नो घर आउँछु भन्दा पाउँदैनस् भन्न पनि नमिल्ने तर यसरी सावधानी नअपनाईकन ल्याइँदा संक्रमण झन् फैलन सक्छ, बेलैमा ध्यान दिन जरुरी छ ।’ मानवीयता र दबाब थेग्न नसकेको कारण देखाउँदै दैनिक हजारभन्दा बढी मानिस भित्राइरहेका स्थानीय तहले सुरक्षित रूपमा घरमा बस्न अनुरोध गर्नेबाहेक अरू विकल्प दिन सकेका छैनन् ।

नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले जोखिम हुँदाहुँदै पनि घर फर्काउनुको विकल्प नभएको तर्क गरे । ‘ठूला सहरले त्यहाँ बसोबास गर्नेको तथ्यांक र पहिचान गर्न सकेनन्, सहरमा टिक्न नसक्ने अवस्था नभएपछि जोखिमपूर्ण हुँदाहुँदै गाउँ फर्काइएको हो,’ उनले भने, ‘गाउँमा त अरू विकल्प पनि हुन सक्छन्, खान नै नपाई मर्ने स्थिति नबनोस् भनेर पनि स्थानीय तहले जोखिम मोलेका हुन् ।’ जिल्लाका १३ स्थानीय तहमा २ सय ८८ बेड क्षमताको क्वारेन्टाइन बनाए पनि प्रयोगमा छैन ।

source: कान्तिपुर डेलि डटकम


प्रतिक्रिया दिनुहोस