धुलिखेल अस्पतालमा छैन कोरोना परीक्षण सामाग्री, परिक्षण कार्य अबरुद्ध

नौलो समाचार संवाददाता
२०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ४३७ पटक पढिएको
धुलिखेल अस्पतालमा छैन कोरोना परीक्षण सामाग्री, परिक्षण कार्य अबरुद्ध

बैशाख २६, काभ्रे । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस (काेभिड–१९) संक्रमण परीक्षण किटको अभाव भएको छ । सरकारले उपलब्ध गर्ने किट पर्याप्त मात्रामा उपलब्ध नहुँदा अभाव सिर्जना भएको हो । दैनिक एक सयजनाको हाराहारीमा कोरोना संक्रमित आशंका गरिएकाको स्वाब परीक्षण गर्ने क्षमता भएको अस्पतालमा परीक्षण किटको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

आफूहरूले पर्याप्त कोरोना परीक्षण किट उपलब्ध गराउनका लागि पहल गरेको भए पनि पर्याप्त उपलब्ध नभएको उनको भनाइ छ । ‘धुलिखेल अस्पतालमा कोरोना परीक्षण किटको अभाव छ,’ उनले भने, ‘हामीले पर्याप्त किटका लागि पहल गरिरहेका छौँ, तर माथि पनि कम भएकाले होला कम पठाइरहेको छ ।’

धुलिखेल अस्पतालमा कोरोना परीक्षण सुरु भएपछि ६ सय किट उपलब्ध भएकोमा पाँच सय ८५ जनाको परीक्षण भइसकेको डा. झाले बताए  । ‘अब थोरै बाँकी छ, त्यो पर्याप्त हाेइन,’ डा. झाले बताए, ‘धेरै स्वाब आयो भने परीक्षण गर्न नसक्ने अवस्थामा छौँ ।’ पाँच सय ८५ जनाको परीक्षण भएकोमा ६९ जना काभ्रेका हुन् भने अन्य पाँच सय २० जना अरू जिल्लाबाट आएको स्वाबको परीक्षण गरेको उनले बताए । जसमा काभ्रेमा सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य जिल्लाको १७ जनाको स्वाबमा कोरोना भएको पुष्टि भइसकेको छ ।

धुलिखेल अस्पतालका कोरोना परीक्षण ल्याब विभागका सूचना अधिकारी डा. सुमनराज ताम्राकारले कोरोना परीक्षण किट अभावले परीक्षणका लागि स्वाब आए पनि परीक्षण गर्न नसकिने अवस्थामा रहेको बताएका छन् । सरकारले बुधबार कोरोना परीक्षण किट पठाउनुपर्नेमा बिहीबारसम्म नपठाएको उनले बताएका छन् । टेकुपछिको धेरै कोरोना परीक्षण हुने धुलिखेल अस्पतालमा भेन्टिलेटर मेसिनको पनि अभाव रहेको उनले  बताए ।

कोरोना परीक्षण ल्याबका लागि सरकारले सबै सामग्री व्यवस्थापन गर्नुपर्नेमा पिसिआर किटबाहेक कुनै पनि सामग्री उपलब्ध नगरे पनि अस्पतालले व्यवस्थापन गरेर परीक्षण गरिरहेको डा. ताम्राकारको भनाइ छ । कोरोना परीक्षणमा स्वास्थ्य प्राविधिकहरूले जोखिम मोलेरै भए पनि काम गरिरहेको उनले बताए ।

source:nayapatrikadaily.com

प्रतिक्रिया दिनुहोस