गृहमन्त्रालयका सह–प्रवक्ताद्वारा काभ्रेकाे साँगा र नालामा अनुगमन

नौलो समाचार संवाददाता
२०७७ बैशाख २७, शनिबार मा प्रकाशित २९१ पटक पढिएको
गृहमन्त्रालयका सह–प्रवक्ताद्वारा काभ्रेकाे साँगा र नालामा अनुगमन

बैशाख २६, काभ्रे । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि बिना कारण उपत्यका भित्रिने र बाहिरिने क्रम बढ्न थालेसँगै प्रशासनले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न थालेको छ ।

सो क्रममा गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी र नेपाल प्रहरीका उपत्यका इञ्चार्ज प्रहरी नायब महानिरीक्षक विश्वराज पोख्रेल नेतृत्वको टोलीले आज बिपी राजमार्ग र अरनिको राजमार्ग भएर उपत्यका भित्रिने नाका काभ्रेकाे साँगा र नालामा अनुगमन गरेको हो । सङ्क्रमण बढिरहेको अवस्थामा नेपाल सरकारले गरेको बन्दाबन्दीको अवस्था के छ र मानवीय आवतजावतलाई समेत रोकिराखेको अवस्थामा नाकाहरुको अवस्था के छ भनेर त्यसको अनुगमन थालेको गृह मन्त्रालयका सह–प्रवक्ता अधिकारी बताए । सो क्रममा काभ्रेबाट उपत्यका प्रवेश गर्ने नाका साँगा र नालाबाट बिना पास र बिना काममा आवतजावत गर्नेलाई फर्कादिएको उनले बताए ।

आज मात्रै विना काम उपत्यका प्रवेश गर्न खोज्ने ३६ गाडी र १०८ व्यक्तिलाई फर्काइसकेको सह–प्रवक्ता अधिकारीले बताए । अन्तरजिल्लाको आवागमनलाई रोक्नको लागि पनि अनुगमन गरिएको उनको भनाइ छ । कामको जरुरीको अवस्थाअनुसार मात्रै उपत्यका प्रवेश गर्न पाउने र बिना कारण आवतजावत गरेको अवस्थामा बिचबाटोबाट नै फर्काउनुपर्ने अवस्था हुने भएकाले त्यसो नगर्न आम सर्वसाधारणलाई उनले आग्रह गरे । अन्तरजिल्लाबीचको आवागमनलाई समेत रोक्नको लागि गृहमन्त्रालयबाट गरिएको निर्देशन र परिपत्रलाई पालना गर्नसमेत मातहतका निकायलाई आग्रह गरे ।

नेपाल प्रहरीका उपत्यका इञ्चार्ज प्रहरी नायब महानिरीक्षक पोख्रेलले सबै प्रकारको सवारी पास भएका सवारीसाधन आवागमनलाई ध्यान दिँदै बिना कारण र बिना आवश्यक्ताको उपत्यका बाहिरिने र भित्रिनेका लागि निषेध गर्ने उद्देश्यले प्रवेश नाकामा अनुगमन थालिएको बताए । उनले भने, “पाएको पासमा पनि सही छ छैन र सवारी पास लिएर आवश्यक सङ्ख्याभन्दा बढी बोकेको पाइएका कारण त्यसलाई पनि निगरानी बढाएका छौँ ।”

उनले प्रवेश नाकाबाट को–को भित्रिए र को–को बाहिरिए भन्ने कुरालाई समेत ध्यानमा राखेर त्यसो गरेको छ छैन हेर्नका लागि पनि सुरक्षा निकायका सबै र गृहमन्त्रालयका सह–प्रवक्तासहितको टोलीले अनुगमन गरेको बताए । सो क्रममा प्रवेश नाकामा भित्रिने र बाहिरिनेको अभिलेखीकरणलाई पनि थप व्यवस्थित गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको छ ।

बाहिरी जिल्लाका समुदायमा पनि कोरोना सङ्क्रमण देखिसकेको अवस्थामा उपत्यकालाई सुरक्षित राख्नका लागि अनावश्यक प्रवेश गर्ने कामलाई रोक्न नाकाका सुरक्षा व्यवस्थालाई कडा पारिएको टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस