लकडाउनका कारण जिल्ला अदालत काभ्रेमा ९ सय मुद्दाको ‘तारिख’ गुज्रियो

नौलो समाचार संवाददाता
२०७७ बैशाख २९, सोमबार मा प्रकाशित ५२६ पटक पढिएको
लकडाउनका कारण जिल्ला अदालत काभ्रेमा ९ सय मुद्दाको ‘तारिख’ गुज्रियो

बैशाख २९, काभ्रे । जिल्ला अदालत काभ्रेमा दर्ता भएका मुद्दाको पक्षहरुलाई दिईएको तारिखको म्याद सकिएको छ । लकडाउन लम्बिदै जाँदा तोकिएको तारिखको अवधी समाप्त भएको हो । अदालत खुलेको १० दिन भित्र तारिख लिईसक्नु पर्ने निर्णयका कारण लकडाउन खुलेपछि अदालतमा हुन सक्ने भिडभाड ब्यवस्थापन र संक्रमण फैलन नदिन रोकथामका लागि गृहकार्य शुरु गरेको छ ।

‘अदालतमा दर्ता भएका ९ सय मुद्दाका पक्षहरुले तारिखको अवधी समाप्त भएकाले फोन मार्फत जिज्ञासा राख्न थाल्नु भएको छ’–श्रेस्तेदार गोविन्द घिमिरेले भन्नुभयो–‘अदालत खुले लगत्तै तारिख लिन आउनेहरुको भिडभाड ब्यवस्थापनका लागि न्यायाधिसहरु, अदालत प्रशासन, कानुन ब्यवसायी बीच छलफल गरी समन्वयको खाका कोरिएको छ ।’

अदालतबाट नियमित हुने प्रकृया लकडाउनकै कारण अवरुद्ध भएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा झण्डै ९ सय मुद्दा चालु अवस्थामा छन् भने चालु वर्षको चैत्र मसान्तसम्म ७ सय ५६ मुद्दा फैसला भएको श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिनु भयो । म्याद तामेल, मिसिल झिकाउने, फैसला कार्यान्वयन लगायत नियमित मुद्दाहरुको फैसलाका लागि पेशी तोक्ने काम अवरुद्ध भएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।

लकडाउन खुल्ला भई अदालतले नियमित सेवा शुरु गरेको १० दिन भित्र मुद्दाका सबै पक्षहरुले तारेख लिईसक्नु पर्ने ब्यवस्था अदालतले गरेको छ । लकडाउनका कारण असार मसान्त भित्र पुरा गर्नु पर्ने लक्ष्य धकेलिने संकेत देखा परेको अदालतले जानकारी दिएको छ । अदालतले तारिख तोक्दा मुद्दाका पक्षहरुको उपस्थितिमा गर्नु पर्ने प्रत्येक काम खुलाई तोक्नु पर्नेछ र प्रत्येक तारिखका दिन सम्पादन हुने काम तारिख पर्चामा खुलाउनु पर्नेछ ।

अदालतबाट कुनै कामका लागि उपस्थित हुन तारिख तोकिएकोमा तोकिएको तारिखका दिन अभियुक्त वा प्रतिवादी अदालतमा उपस्थित हुनु पर्ने ब्यवस्था छ । तर तोकिएको तारिखका दिन काबूबाहिरको परिस्थिति उत्पन्न भई अदालतमा उपस्थित हुन नसकेको कारण देखाई मुद्दाका कुनै पक्षले निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले बढीमा दुई पटकसम्म एक्काईस दिनसम्मको गुज्रेको तारिख थामिदिने आदेश दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस