नमोबुद्ध नगरपालिकाकाे समिक्षा कार्यक्रम सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ३८६ पटक पढिएको
नमोबुद्ध नगरपालिकाकाे समिक्षा कार्यक्रम सम्पन्न

असोज ३०, काभ्रे (नमोबुद्ध) । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथा आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आज (शुक्रबार) नगर सभाहलमा सञ्चारकर्मी सहितको सहभागीतामा उक्त समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूले निर्वाचनको बेलामा जनतासँग पाँच बेथितिको अन्त्य र ५ समृद्धिको लागि आफूले प्रतिबद्धता जाहेर गरेकोले त्यही अनुसार नगर अगाडि बढेको बताए ।

यो वर्ष सबै वडामा स्वास्थ्यको भवन निर्माण भइसक्ने र आवश्यकता अनुसार स्वास्थ्य इकाईहरु पनि सञ्चालन गरेको बताए । त्यस्तै एउटै डिजाइनको वडा कार्यालयहरु निर्माणको क्रममा यो वर्ष ९ वटा वडा कार्यालय सम्पन्न हुने बताए ।

यसैबीच नगर उप–प्रमुख रामदेवी तामाङले नगरपालिकालाई महिला मैत्री बनाउन आफूहरु सफल भएको बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक प्रगति विवरण पेश गरेका थिए । चालु आर्थिक वर्ष चालु तर्फ १७ प्रतिशत र पूँजीगत तर्फ २ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिए । नमोबुद्ध नगरले आफ्नो कार्यालय काभ्रेमै पहिलो अत्याधुनिक भवन निर्माण गर्न सकेको उनले बताए ।

पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकासमा नमोबुद्ध नगरले छलाङ मारेको बताउँदै चापागाईंले अब नमूना नगरको रुपमा विकास हुने दावी गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए।

नगर प्रमुखद्वारा पत्रकार महासंघ तथा विद्यार्थीलाई सहयोग

नगर प्रमुख शर्माले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई १ लाखको चेक हस्तान्तरण गरेका थिए । टिपीशर्मा सिर्जनाशी पत्रकारीता पुरस्कार कोषमा रहने गरी उक्त रकम बराबरको चेक महासंघका अध्यष मोतिराम तिमल्सिनालाई हस्तान्तरण गरेका थिए ।

यसैबीच कार्यक्रममा नगर प्रमुख शर्माले आफूले अभिभावकत्व ग्रहण गरेका विद्यर्थाीहरुलाई नगद सहयोग गरेका छन् । कोभिड–१९ कारण विद्यालय जान नसकेको र अनलाई कक्षा सञ्चालन भइरहेकोले उनीहरुलाई शर्माले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । उनीहरुलाई ६ हजार ५ सयका दरले सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस