जेष्ठ नागरिकलाई जाडोमा न्यानो बाँड्दै नमोबुद्धका जनप्रतिनिधि घरघरमा

नौलो समाचार संवाददाता
२०७७ पौष १४, मंगलबार मा प्रकाशित ५७० पटक पढिएको
जेष्ठ नागरिकलाई जाडोमा न्यानो बाँड्दै नमोबुद्धका जनप्रतिनिधि घरघरमा

पुष १४, काभ्रे। जाडो बढेसँगै जिल्ला स्थित नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिहरु सिरक र पछ्यौरा बोकेर जेष्ठ नागरिकको घरघर पुग्न थालेका छन् ।

नमोबुद्ध नगरपालिका वडा नं. ४ को आयोजनामा मंगलबारदेखि वडाभित्रका जेष्ठ नागरिकलाई सिरक र पछ्यौरा वितरण सुरु गरिएको हो । मंगलबार बिहान वडा कार्यालयमा आयोजित कार्यक्रममा ७० वर्षमाथिका जेष्ठ नागरिकलाई नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले लगायतले सिरक र पछ्यौरा वितरण गर्दै कार्यक्रमको सुरुवात गरे ।

अब वडाका सबै टोलमा पुगेर सिरक र पाछ्यौरा वितरण गरिने वडा कार्यालयले जनाएको छ । वडाभित्रका ७० वर्ष नाघेका ९२ जना जेष्ठ नागरिकलाई सिरक र पछ्यौरा वितरण गरिनेछ । वडा कार्यालयले चालु आर्थिक बर्षका लागि जेष्ठ नागरिकका लागि छुट्याइएको बजेटबाट सिरक वितरण गरेको हो । यस्तै नगर उपप्रमुख रामदेवी तामाङले व्यक्तिगत तर्फबाट पछ्यौरा उपलव्ध गराएकी छन् ।

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरपालिकाले विगतदेखि नै कार्यक्रमहरु गर्दै आएको र सहयोग निरन्तर रहने बताए । कोही पनि जेष्ठ नागरिकले एक्लो र बेसहारा महसुस गर्नुनपर्ने बताए । नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्ने व्यवस्था गरेको जानकारी दिँदै उनले कान नसुन्ने जेष्ठ नागरिकका लागि आवश्यक मेसिनको प्रबन्ध गर्ने तयारी गरेको पनि बताए । यस्तै उपप्रमुख रामदेवी तामाङले जेष्ठ नागरिकलाई आफूले सुविधामार्फत पाउने रकमबाट सानै भए पनि सहयोग गर्न पाउँदा खुशी व्यक्त गरिन् । धर्मका लागि मन्दिर धाउन नपर्ने भन्दै उनले जेष्ठ नागरिकको सेवा र सम्मान गर्दा नै पुण्य प्राप्त हुने बताइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जेष्ठ नागरिकको साथमा राज्य छ भन्ने अनुभूति दिलाउन सहयोग गरेको बताए ।


प्रतिक्रिया दिनुहोस