नमोबुद्ध नगरपालिकाको आठौं नगरसभामा विभिन्न चार विधेयक प्रस्तुत

नौलो समाचार संवाददाता
२०७७ माघ ७, बुधबार मा प्रकाशित ५३३ पटक पढिएको
नमोबुद्ध नगरपालिकाको आठौं नगरसभामा विभिन्न चार विधेयक प्रस्तुत

माघ ७, काभ्रे। काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको आठौं नगरसभा (हिउँदे अधिवेशन)मा विभिन्न चार विधेयक प्रस्तुत भएका छन् ।

बुधबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको नगरसभा बैठकमा विभिन्न समितिहरुको तर्फबाट विधेयक प्रस्तुत भएका हुन् ।

बैठकमा विधायन समितिका संयोजक तथा वडा नं.२ का वडा अध्यक्ष सञ्जीव ढकालले नमोबुद्ध नगरपालिकाको वन र वन क्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्न बनेको नमोबुद्ध नगरपालिकाको वन विधेयक २०७७ प्रस्तुत गरे ।

यस्तै सामाजिक विकास समितिका सदस्य एवं वडा नं.५ का अध्यक्ष बुद्धसिं तामाङले नमोबुद्ध नगरपालिकाका युवाको हकहितको संरक्षण, संवद्र्धन र सशक्तीकरणको लागि बनेको नमोबुद्ध नगरपालिकाको नगर युवा परिषद विधेयक २०७७ प्रस्तुत गरे।

बैठकमा वातावरण तथा विपद व्यवस्थापन समिति सदस्य एवं वडा नं. ७ का वडाअध्यक्ष धर्म सिं लामाले नमोबुद्ध नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुत गरे भने सामाजिक विकास समितिका संयोजक एवं वडा नं.११ का वडाअध्यक्ष कृष्णवहादुर तामाङले नमोबुद्ध नगरपालिकाको शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक २०७७ प्रस्तुत गरेका थिए ।

बैठकमा यसअघि पारित भएका दुईवटा ऐन संशोधन प्रस्तावसमेत पेश भएको छ । विधायन समितका संयोजक एवं वडा नं.२ का वडा अध्यक्ष सञ्जीव ढकालले आर्थिक बर्ष २०७७/०७८ को नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन संशोधन प्रस्ताव र आर्थिक विकास समिति संयोजक एवं वडा नं.९ का अध्यक्ष मेलवहादुर लामाले नमोबुद्ध नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७५ माथिको संशोधन प्रस्ताव पेश गरेका थिए ।

नयाँ विधेयकका साथै संशोधन विधेयकमाथि छलफल गरी नगरसभाको यही माघ १९ गते बस्ने अर्को बैठकले पारित गर्ने नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए ।

नगरसभा बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सातौं नगरसभाबाट स्वीकृत भएको नीति कार्यक्रम तथा बजेटमा हालसम्म भएको भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भौतिकरुपमा अपेक्षा गरेभन्दा बढी प्रगति भएको बताए।

नगरपालिकातर्फ १ सय ४३ वटा योजना रहेकोमा अधिकांश योजना कार्यान्वयनको चरणमा गएको उनले जानकारी दिए ।

यस्तै वडातर्फ कुल २ सय ४१ वटा योजना रहेको र भौतिक प्रगति उल्लेखनीय रहेको पौडेलले बताए।

नगरपालिकामा संघीय सरकारबाट हस्तान्तरण भएका कार्यक्रम (सशर्त अनुदान)तर्फ १०९ वटा योजना, समपुरक अनुदानतर्फ १ वटा योजना, बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फका १९ र समपुरकतर्फ ४ वटा योजनामा टेण्डर प्रक्रिया सुरु भई कार्यान्जयनको क्रममा रहेको पौडेलले जानकारी दिए।

यस्तै बागमति प्रदेश सरकारबाट विशेष अनुदानतर्फ रहेको एउटा योजना पनि टेण्डर प्रक्रिया भई कार्यान्वयनमा गएको पौडेलले जानकारी दिए।

नगरसभा बैठकमा सभाध्यक्ष एवं नगर प्रमुख तिमल्सिनाले समग्र नमोबुद्धको विकासका लागि र व्यवस्थित नगर बनाउने उद्देश्य अनुरुप नमोबुद्ध नगरपालिकाको भू–उपयोग कार्यविधि तुरुन्त तयार गरी कार्यान्वयनमा लैजान कार्यपालिकालाई अनुरोध गरे ।

सोही अनुसार अब कार्यपालिकाले भू–उपयोग कार्यविधि तयार पारी कार्यान्वयन प्रक्रियामा लैजाने भएको छ ।


प्रतिक्रिया दिनुहोस