सोनाम ल्होछारमा चौंरीदेउराली गाउँपालिकाले ३ दिन विदा दिने

नौलो समाचार संवाददाता
२०७७ माघ २५, आईतबार मा प्रकाशित ९०३ पटक पढिएको
सोनाम ल्होछारमा चौंरीदेउराली गाउँपालिकाले ३ दिन विदा दिने

माघ २५, काभ्रे। जिल्लाको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँसभा बैठकले ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक विदा माघ २९, ३० र फाल्गुण १ गते दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा ३ नं. वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिए । तामाङ समुदायको बहुल्यता रहेको यस गाउँपालिकामा यो वर्षदेखि ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तामाङ समदायको महान पर्वको रुपमा रहेको सोनाम ल्होछारको प्रवद्र्धन र विकास गर्नु सरकारको दायित्व भएकोले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए ।

अध्यक्ष गौतमले हिन्दु धर्मोलम्बीहरुको पर्व दशैं र तिहारालाई जति नै अरु समुदायको चाडपर्व र संस्कारलाई पनि उत्तिकै सम्मान र समान व्यवहार गर्दै अघि बढ्ने बताए । सोही अनुसार यो वर्षमा गाउँपालिकाले गाउँपालिका स्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।


प्रतिक्रिया दिनुहोस