बनेपा नगरपालिकाले बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षा, स्वस्थ्य र मासिक खर्च बेहोर्ने

नौलो समाचार संवाददाता
२०७७ फागुन ९, आईतबार मा प्रकाशित ७५३ पटक पढिएको
बनेपा नगरपालिकाले बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षा, स्वस्थ्य र मासिक खर्च बेहोर्ने

फागुन ९ , काभ्रे । बनेपा नगरपालिकाले बुबाआमा गुमाएका बालबालिकाहरुको अभिभावक भइ  शिक्षा, स्वस्थ्य र मासिक खर्च बेहोर्ने गरि  जिम्मेवारी लिने घोषणा गरेको छ ।

विभिन्न कारणबाट बुबाआमा दुबै गुमाएका अभिभावक विहिन बालबालिका संरक्षण कार्यक्रम मार्फत बनेपा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका १२ जना बालबालिकाहरुलाई मासिक नगद सहित शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने निर्णय गरेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताए । आजैबाट १२ जना अभिभाबक विहिन १८ बर्ष मुनिका बालबालिकालाई मासिक ३ हजारका दरले रकम प्रदानको कार्य को थालनी पनि गरिएको छ ।

बनेपा नगरपालिकाले विशेष योजना मार्फत वागमति प्रदेश सरकारले दिने रकममा थप गरी बालबालिकाहरुले अभिभावकत्व नभएको महशुस नगरुन भन्ने उदेश्यले अभिभावकत्व ग्रहण गरी संरक्षण गरेको नगर प्रमुख बादेको भनाइ छ । नगरपालिकाले १८ बर्ष मुनिका अभिभावक विहिन बालबालिकाहरुलाई मासिक ३ हजार, स्वास्थ्य र उच्च शिक्षासम्म सरक्षण गर्नेछ।  बामगती प्रदेश सरकारले अभिभावक विहिन बालबालिकाहरुलाई मासिक २ हजार उपलब्ध गराउने र सोहि रकममा १ हजार रुपैया नगरपालिकाले थप गरेको हो ।

कार्यक्रममा नगरपालिका उप-प्रमुख रेखा सापकोटा दाहालले सबै बालबालिकाहरुलाई आत्मबल र आत्मविश्वास बढाई उच्च शिक्षामा लाग्न आग्रह गरिन्। नगरपालिकाले नगर क्षेत्र भित्रका बाबुआमा विहिन बालबालिकाहरुलाई संरक्षण, कक्षा ५ सम्मका विद्यार्थीहरुलाई नि:शुल्क दिवा खाजा, कक्षा ७ देखीका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्दै आएको उपप्रमुख दाहालले वताइन् ।

कार्यक्रममा वागमति प्रदेश निती तथा योजना आयोगका सदस्य यमुना कँडेल, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, वडा अध्यक्षहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिजया सुवेदीलगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस