पनौती नगरपालिकाले दोहोरी गीत प्रतियोगितासहित विभिन्न कार्यक्रम गरि मनायो ‘महिला दिवस’

नौलो समाचार संवाददाता
२०७७ फागुन २५, मंगलबार मा प्रकाशित १४७७ पटक पढिएको
पनौती नगरपालिकाले दोहोरी गीत प्रतियोगितासहित विभिन्न कार्यक्रम गरि मनायो ‘महिला दिवस’

फागुन २५, काभ्रे । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ।

नगरपालिकाको महिला विकास शाखा मार्फत मार्च ८ अर्थात् फागुन २४ गते १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगर प्रभातफेरी, दोहोरी गीत प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरिएको महिला विकास शाखा प्रमुख लक्ष्मी पोखरेलले जानकारी दिनुभयो ।

आइतबार आयोजना गरिएको कार्यक्रमको सुरुवात पनौती नगर बजार परिक्रमा पछि नगरपालिका हलमा औपचारिक कार्यक्रम भएको थियो । पनौती नगरपालिकका उपमेयर गीता बन्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य गोमा भुर्तेल रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अथितिको रुपमा नगर प्रमुख भिम न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, तेजगंगा बहुमुखी क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्की, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य गोमा भुर्तेलले महिला हिंसा न्यूनिकरणमा विशेष जोड दिँदै सोही अनुसार नगरपालिकाको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । यस्तै नगरप्रमुख भिम न्यौपानेले महिलालाई रोजगारीमा पहुँच, राजनीतिक एवं सामाजिक क्षेत्रमा पहुँच वृद्धि गर्न आफूहरु लागिपरेको र समृद्ध नगर निर्माणमा महिलाहरुसँग हातेमाले गर्दै नगरपालिका अगाडि बढ्ने बताउनुभयो । कार्यक्रमा अन्य वक्ताहरुले महिला दिवसको अवसरमा दिदै महिला हिंसा न्यूनीकरणमा जोड दिदै सबै क्षेत्रमा महिला सहभागिताको लागि दिएका छन् ।

दोहोरी गीत प्रतियोगितामा गौरीशंकर प्रथम 

महिला दिवसकै अवसरमा आयोजना गरिएको दोहोरी गीत प्रतियोगितामा पनौती-७ को गौरीशंकर महिला विकास बहुउद्देश्य सहकारी सस्थाले प्रथम स्थान हासिल गरेको छ । लैंगिक हिंसा र महिला अधिकार सम्वन्धि शन्देशमुलक चेतना दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको महिला विकास शाखा प्रमुख लक्ष्मी पोखरेलले जानकारी दिनुभयो । यस्तै हिमशिखर बहुउद्देश्य सहकारी सस्था पनौती -५ ले दोश्रो स्थान हात पारेको छ भने पनौती-१ को जनमैत्री वचत तथा ऋण सहकारी सस्था तेश्रो भएको छ । यसैगरी चेतनशील महिला उद्देश्य सहकारी सस्थाले सान्त्वना पुरस्कारमा चित्त बुझाएको छ ।

बरिष्ठ लोक गायक मच्छेश्वोर सापकोटा, संगीतकार लक्ष्मण मतान्छे र गीतकार तथा संगीतकार सुरेन्द्र श्रेष्ठले प्रतियोगी समुहको शब्द, लय, भाषा, भेषभुषा तथा माधुर्यताको आधारमा अंक प्रदान गरि प्रतियोगी समुहको छनौट गरेका हुन् ।

प्रतियोगितामा प्रथम हुने समुहले प्रमाणपत्र सहित नगद ४ हजार, दोश्रो हुने समुहले ३ हजार, तेश्रोले २ हजार र सान्त्वना हुनेले नगद १ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस