नमोबुद्धमा महिलालाई निःशुल्क स्कुटर ड्राइभिङ तालिम

नौलो समाचार संवाददाता
२०७७ चैत्र २, सोमबार मा प्रकाशित ७२३ पटक पढिएको
नमोबुद्धमा महिलालाई निःशुल्क स्कुटर ड्राइभिङ तालिम

चैत २, काभ्रे । काभ्रेकाे नमोबुद्ध नगरपालिकामा महिलाहरुका लागि लक्षित गर्दै स्कुटर ड्राइभिङ तालिम सञ्चालन गरिएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा आज (सोमबार)देखि सुरु भएको तालिमको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् ।

नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमममा नगर प्रमुख तिमल्सिनाले स्कुटर सिकेपछि लाइसेन्स प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने प्रतिवद्धता जनाए । महिला सशक्तिकरणमा नमोबुद्ध नगरपालिका अग्रस्थानमा रहेको भन्दै उनले ११ वटा वडामै सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।

नगरपालिकाले महिलाका लागि लक्षित गर्दै सीपमुलक तालिम, लोकसेवा तयारी कक्षाहरु सञ्चालन गरेको जानकारी दिँदै उनले महिलालाई उद्यमी र आत्मनिर्भर बनाउन नगरपालिका क्रियाशिल रहेको बताए ।

कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतमा पूर्वाधार निर्माणको काम अघि बढाइएकोमा अब सीप विकासमा नगरपालिकाले जोड दिएको बताइन् । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्रत्येक बर्ष महिला सशक्तिकरणको क्षेत्रमा बजेट वृद्धि गर्दै लगिएको उनको भनाई थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले महिला घरबाहिर महिलाको जति बढी संलग्नता हुन्छ त्यति धेरै क्षमताको विकास हुने बताए ।

सीप विकाससँगै महिलामाथि हुँदै आएको हेपाईमा कमी आउने पौडेलले बताए । नगरपालिकाले महिला सशक्तिकरणमा विशेष जोड दिएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए ।

तालिममा नगरपालिकाका महिला जनप्रतिनिधि र महिला संस्थाका प्रतिनिधिसहित ४२ जनाको सहभागिता रहेको छ । तालिम यही चैत १६ गतेसम्म सञ्चालन हुने नमोबुद्ध नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस