पनौतीमा काभ्रे सेवा समाज र सन्नी सगरमाथा समाजको सहयोगमा दृष्टिविहीन विद्यार्थीलाई खानेपानी

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार मा प्रकाशित १२०० पटक पढिएको
पनौतीमा काभ्रे सेवा समाज र सन्नी सगरमाथा समाजको सहयोगमा दृष्टिविहीन विद्यार्थीलाई खानेपानी

जेठ २२, काभ्रे। काभ्रे सेवा समाजको पहलमा पनौती ४ का दृष्टिविहीन विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि खानेपानीको व्यवस्था भएको छ।

पनौती ४, बालोद्धार माध्यमिक विद्यालयस्थित दृष्टिविहीन समुदाय र विद्यार्थीहरुको परोपकारी संस्था रियल नेपाल’ मा आश्रित दृष्टिविहीन विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीका लागि खानेपानीको व्यवस्था भएको छ । काभ्रे सेवा समाज (कासेस)ले अमेरिकाको क्यालिफोर्नियास्थित सन्नी सगरमाथा समाजसँग मिलेर दृष्टिविहीनहरुका लागि खानेपानीको व्यवस्था गरिदिएको हो। बालोद्धार माध्यमिक विद्यालयले इनारका लागि जग्गा उपलब्ध गराएको हो।

पनौतीका नगरप्रमुख भीम न्यौपानले सो खानेपानी प्रणालीको सुरुवात गर्नुभएको छ। सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानले पनौती नगरपालिकाले समावेशी र सहभागितामूलक योजना तर्जुमाका क्रममा रियल नेपालजस्तो फरक शारीरिक क्षमता भएका व्यक्तिहरुको पनि सहभागिता हुनु पर्छ भनेर वडा नं ४ र बालोद्धार स्कूलसँग समन्वय गरि संस्थालाई रहने व्यवस्था मिलाएको बताउनुभयो। अब चाँडै नै जग्गा व्यवस्थापनसहित कम्तीमा ६ कोठाको भवन बनाएर दृष्टिविहीन विद्यार्थीहरुलाई बस्न र पढ्नका लागि अझ सुविधा उपलब्ध गराउने आफ्नो  योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

यस्तै सन्नी सगरमाथाका संस्थापक अध्यक्ष इश्वर सापकोटा गृहथलो पनौती आएका बेला दृष्टिविहीन विद्यार्थीहरुको कष्टका बारेमा जानकारी गराउनुभएको थियो। उहँले समाजका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउदा भने नपुग रकम म आफैंले पनि थपेर खानेपानीको प्रबन्ध मिलाउन सकेको बताउनुभयो।

कोभिड– १९ को दोस्रो लहर फैलिएसँगै जिल्लाबाट निषेधाज्ञा र नगरपालिकाबाट नगरक्षेत्र शिल भएपछि दृष्टिविहीन विद्यार्थीहरु खानेपानी लिन र नुहाइधुवाईका लागि बाहिर निस्कन पाएका थिएनन् । कासेसबाट तत्काल खाद्यान्न राहत लिएर रियल नेपाल पुग्दा सो तथ्य जानकारीमा आएलगत्तै खानेपानीको प्रबन्ध मिलाउन प्रयास भएको हो ।

बालोद्धार माविको नयाँ भवन एपाटारस्थित इनारबाट करीब १ सय २५ मीटरको दूरीमा रहेको पुरानो स्कूलसम्म पाइपलाइनमार्फत खानेपानी पुर्याइएको छ । रियल नेपालले खानेपानी उपभोग गरेपछि विद्यालयले उपभोग गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

कासेसका आजीवन सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले पनौतीमा र काभ्रे जिल्लामै करीब २ सयको हाराहारीमा दृष्टिविहीन नागरिकहरु रहेका जानकारी पाएको बताउदै उनिहरुको आवश्यकताका बारेमा जानकारी आएमा निजीक्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न सकिने बताउनुभयो। उहाँले रियल नेपालमा आश्रित दृष्टिविहीन विद्यार्थीहरुका लागि स्नानकक्ष बनाइदिने घोषणासमेत गर्नुभएको छ।

यस्तै, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंँले दृष्टिविहीन विद्यार्थी तथा शिक्षकहरुका लागि आफूले तीन महिनाको निम्ति खाद्यान्नको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कासेसका आजीवन सदस्य एवं पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले पनि दृष्टिविहीनहरुलाई समाजले खानेपानीको व्यवस्था गरिदिएको र अन्य आवश्यकता परेका बखत सक्दो सहयोग गर्न आफू पनि तत्पर रहेको वचन दिनुभयो।

सो अवसरमा रियल नेपालका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद धितालले आफू र पत्नी पनि दृष्टिविहीन भएकाले रियल नेपालमा आश्रित विद्यार्थीहरुको समस्यालाई आफ्नै मानेर काम गरिरहेको बताउनुभयो। धेरै ठाउँमा कार्यालय र विद्यार्थीहरुलाई सार्दै कठिनतापूर्वक बस्न, खान र ब्रेल लिपिबाट पठनपाठन गराइरहेकोमा पनौती नगरपालिका र वडा नं ४ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र समुदायको सहयोगमा स्कूलमा आश्रय लिन पाएकोमा खुशी व्यक्त गर्नुभयो।

सो अवसरमा कासेसका संस्थापक अध्यक्ष प्रह्लाद केसीले २०६९ सालमा संस्थाको स्थापना भएदेखि नै काभ्रे जिल्लाका लागि धेरै महत्वपूर्ण कार्यहरु गर्दै आएको जानकारी दिनुभयो।

सो अवसरमा नगरप्रमुख न्यौपानले कासेसका तर्फबाट सन्नी सगरमाथा समाजलाई प्रदान गरिएको प्रसंशापत्र संस्थाका संस्थापक अध्यक्ष सापकोटालाई प्रदान गर्नुभयो। यस्तै, खानेपानीको उपभोग सम्बन्धमा वडा नं. ४ का वडाध्यक्ष बुद्धसिंह थापाको रोहबरमा कासेस, सन्नी सगरमाथा समाज, बालोद्धार मावि र रियल नेपालवीच भएको सम्झौताको प्रति सबै सरोकारवालाहरुलाई प्रदान गर्नुभयो।

कासेसका सचिव राघवसिंह थापाले स्वागत मन्तव्यका क्रममा १५ दिनमा खानेपानकिा सबै कामहरु पूरा गरि विद्यार्थीहरु रहेकै स्थानमा पानी खसाल्न सकिएकोमा निर्माणपक्षका सबैलाई धन्यवाद दिनुभयो।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव बन्जाराले एडिबीले नयाँ भवन र शौचालय बनाइदिएको भए पनि पानीको व्यवस्था नहुँदा सञ्चालनमा समस्या आउने पीर भएकोमा दाताहरुले पानीको प्रबन्ध गरिदिँदा रियल नेपालका दृष्टिविहीन र विद्यालयका शिक्षक विद्यार्थीहरु सबैलाई राहत पुगेको विचार राख्नुभयो।


प्रतिक्रिया दिनुहोस