अनुशासनमा रहेर काम गर्नुस, जनताले हरेक कामको  निगरानी गरिरहेका छन् : कांग्रेस सभापति तिर्थ लामा

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २९, आईतबार मा प्रकाशित ७५५ पटक पढिएको
अनुशासनमा रहेर काम गर्नुस, जनताले हरेक कामको  निगरानी गरिरहेका छन् : कांग्रेस सभापति तिर्थ लामा

जेठ २९, काभ्रे। नेपाल महिला संघ नमोबुद्ध नगर कार्यसमितिले स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ।

शनिवार भकुण्डेवेशीमा आयोजित कार्यक्रममा नगरप्रमुख कुन्साङ लामा, वडाअध्यक्ष, कार्यपालिका सदस्य, सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो। संविधान सभा सदस्य समेत रहेका कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले उनीहरुलाई सम्मानसहित बधाई ज्ञापन गर्नुभएको हो।

कार्यक्रममा बोल्दै जिल्ला सभापति लामाले संगठनको बलमा कांग्रेसले विजयी हासिल गरेको भन्दै नगर सभापति कुन्साङ लामासहित सबै कार्यसमिति, भातृ तथा सुभेच्छुक संघ संस्था र वडा कार्यसमिति र सबै कृयाशिल र शुभेच्छुकहरुको मिहेनतको प्रतिफल नै कांग्रेसको जित भएको बताउनुभयो। जनप्रतिनिधीका हरेक कृयाकलाप जनताले निगरानी गरिरहेको हुने भन्दै उहाँले अनुशासनमा रहेर काम गर्न जनप्रतिनिधीहरुलाई निर्देशन दिनुभयो।

नगर प्रमुख कुन्साङ लामाले सबैको मिहेनतका कारण कांग्रेस जितेको भन्दै सबै प्रति आभार प्रकट गर्नुभयो। उहाँले विधी र कानून भन्दा एक इञ्च पनि तल रहेर काम नगर्ने भन्दै कानून विपरितका कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले टोल-टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने आफ्नो तयारी रहेको भन्दै सम्बन्धित बैंकहरुसंग छलफल गरिसकेको जानकारी दिनुभयो।

नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तानले गठबन्धनका कारण महिला सहभागिता केही खुम्चिएको स्विकार्दै महिलालाई पार्टी र संसदीय फाँटमा सबैभन्दा धेरै अबसर दिने पार्टी कांग्रेस नै भएको इतिहासले पुष्टी गरेको बताउनुभयो। कांग्रेस महासमिति सदस्य हरिबहादुर बलले विगतका त्रुटी सच्याएर जानुपर्ने बताउनुभयो।

महाधिवेशन प्रतिनिधी समेत रहेका नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझाले अघिल्लो स्थानीय तहको निर्वाचन हारेको कांग्रेस निरन्तर जनताको विचमा रहेको कारण यो पटक जित हासिल गरेको बताउनुभयो। कांग्रेस महाधिवेशन प्रतिनिधी रमिला अधिकारीले सबैलाई समान अवसर दिएर कांग्रेसले नमोबुद्धलाई नमुना नगर बनाउने विश्वास व्यक्त गर्नुभयो।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य सन्त लामाले जितको दम्भ देखाए कांग्रेस कम्युनिष्ट जस्तै सिद्धिने भन्दै जनताको सुखदुखमा सधै साथमा रहने बताउनुभयो। उहाँले कांग्रेसका जनप्रतिनिधीले भ्रष्ट्राचार गरेको सुन्न नपरोस् भन्दै सुशासन र पारदर्शीतामा जोड दिन अनुरोध गर्नुभयो।

कांग्रेस नगर कार्यसमितिका कार्यबहाक सभापति इन्द्रबहादुर दाहालले जनप्रतिनिधीहरुलाई शासक नभई जनताको सेवक भएर काम गर्न अनुरोध गर्नुभयो। नमोबुद्ध नगर कार्यपालिका सदस्य सुशिला परियारले महिला अधिकार, शसक्तिकरण र महिलालाई आर्थिक रुपमा सक्षम बनाउने खालका योजना ल्याउनुपर्नेमा जोड दिनुभयो।

महिला संघ नमोबुद्धकी सभापति शान्ता पाठक नरालले महिलालाई लैंगिक हिसा बारे जानकारी दिन तालिम, प्रशिक्षण, प्रतिरक्षा तालिम र निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न माग गर्नुभयो।

नमोबुद्ध नगरपालिकामा कांग्रेसले नगरप्रमुख, ५ वडाअध्यक्षसहित ३१ जना नगर सभा सदस्यमा जित हासिल गरेको छ । २१ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १४, माओवादी केन्द्र र एमालेको ३/३ र १ स्वतन्त्र निर्वाचित छन् ।

प्रतिक्रिया दिनुहोस