नबाँधिएको बन्धन

ध्रुबकृष्ण ताम्राकार
२०७९ भाद्र ११, शनिबार मा प्रकाशित ७२४ पटक पढिएको
नबाँधिएको बन्धन

एकाएक उषामा परिवर्तन आएकोमा बिनोदलाई अचम्म लागिरहन्छ। ऊ अझै पनि यति छिटो यकिन गर्न सकिरहेको छैन कि उषामाथि संका गर्ने ठाउँ भएर पनि । फोन र कल रिसिभ गर्ने त के कुरा र अगाडि हुँदा पनि कुनै बहाना बनाएर उम्कने । आफ्नै आँखा अगाडि हिजो पनि राजेशको बाइकमा लिफ्ट लिएर हुइँकिएको झलझलिले बिनोदलाई बिझाइरहेको थियो ।

त्यति उत्ताउलो र छाडा नदेखिने उषा आजभोलि भड्किलो मेकअप र पहिरनमा सजिएर आफ्नो शरीर नुमाइस गरिरहेको देखेर बिनोदमा उनी त्यो उषा नै होइन, कुनै बहुरुपिया नै हुन कि जस्तो भान पनि गर्न थाल्छ । तर हकिकत त कहाँ बदलिन्छ र ! आखिर उनी यथार्थमा उषा नै हुन्, अरु कुनै डुब्लिकेट होइनन् । उनको स्वभाव र आचरण बदलिनु बिनोदको लागि असह्य हुँद गैरहेको थियो।

चाहना र भावनाको कुनै सीमा नहुंदोरहेछ । पहिलो पल्टको भेटमा नै उषाको सादगी, लजालु स्वभाव, शिष्टताको अगाडि विनोद पग्लिएको थियो।

जुनबेला, क्याम्पसले नयाँ विद्यार्थीहरूका लागि स्वागतको कार्यक्रम राखेको थियोे त्यहि बेला विनोद र उषाको देखादेख भएको थियोे । दुबै जना नयाँ विद्यार्थी थिए । उक्त समारोहमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो । सांस्कृतिक कार्यक्रम चलिरहेको बेलामा उषा दर्शकदिर्घामा उभिएर कार्यक्रम हेरिरहेकी थिइन् । भर्खर फक्रेको गुलाब जस्तै सुन्दर उषा, विनोदको नजरमा नपर्ने कुरै भएन । कलेजको साधारण पहिरनमा पनि उषाको सुन्दरता अनुपम थियो । थुप्रै फूलहरू फुलिरहेको बगैंचाको सबैभन्दा सुन्दर फूल उनी नै थिइन् । विनोदले एकटकले उषालाई हेरिरह्यो । एकैछिनपछि दुबैका आँखा जुधे । आँखा नै जुधेपछि आफ्नो मनमा साहस भर्दै विनोद उषाको नजिक गयो ।

“हेल्लो म विनोद ।” उनी संकोच मान्छिन् ।

कुनै उत्तर नदिइकन उषा केवल मुस्कुराइन् ।

“तपाईको चाहिं नाम के हो?”

विनोद परिचय लिन उत्सुकता जाहेर गर्दै थिए ।

“उषा हो मेरो नाम ।”

मसिनो स्वरले आफ्नो परिचय दिइन् उषाले ।

रात छिपिँदै गैरहेको थियो । रात्रिभोज सकेर पनि उषाको साथी निलमा र केही साथीहरू डान्स गरिरहेका थिए । उनीसँगै आएकी निलमालाई छोडेर जान पनि सकिन । उनलाई पर्खिरहेकी थिइन्।

तर नशाले छोइसकेकी निलमा मातले नाचिरहेको झुन्डसँग झन् उफ्रिरहन्छिन् । रातको नौ बजिसकेकोले पार्टी प्यालेसको नियमअनुसार म्युजिक बन्द गरिसकेपछि मात्र निलमा उषासँगै लरखराउदै बाहिरिन् ।

बाहिर बिल्कुलै सुनसान भैसकेको थियो । बाटोमा गुडिरहेको ट्याक्सी देख्ने बित्तिकै ट्याक्सी ! भन्दै उषाले चिच्याएर रोक्न खोज्छिन् तर नरोकिकनै जान्छ । सायद ट्याक्सीमा पेसेन्जर थियो होला ।

“यस्तै ढिलो होला भनेर चाँडैै निस्कौभन्दा तिमी मानेनौ । अटेरी भएर बस्यौ । अब आमाको गालि खालिस् ।” उषा निलमालाई आँखा तरेर हेर्दै रोष प्रकट गरिरहन्छिन् ।

“एक्सक्युजमि के हामी तपाईंहरूलाई हेल्प गर्न सक्छौ?” भन्दै दुईजना नशाले चुर भएका मान्छे उनीहरूको अगाडि उभिन्छन् । उनीहरूले भुँइमा खुट्टै टेक्न सकिरहेका थिएनन् । भो पर्दैन भन्दै निलमा र उषा पन्छिन खोज्छिन्, तर ती रक्सीले मात्तिएकाहरू बलजफ्ती गर्दै उनीहरूको शरिर छुन खोज्छन् । उनीहरू अत्तालिएर के दगुर्न खोजेका थिए दुईजनाकै कठालो समातेर पछाडिबाट कसैले खुट्टाले किक हान्यो । “के हो महाशय, केटीहरूलाई छेड्न लाज लाग्दैन?” भन्दै फेरि मुक्का हान्न के खोजेका थिए तिनीहरू त्यहाँबाट कुलेलम ठोके ।

उषा र निलमाको हृदयमा डरको भूकम्प गइरहेको थियो । तर कोही आएर तिनीहरूलाइ भगाएपछि दुबैले राहतको सास फेरे । अँध्यारो रातका कारण ती सज्जन पुरूषको मुहार राम्ररी देखिएको थिएन । ती भद्र पुरूष अलिक नजिक आएर भन्न थाले, “समयको ख्याल त गर्नुपर्छ नि । यति राती भैसकेको छ । समयमै घर पुग्नु पर्दैन? रातको समयमा राम्रा मान्छे हिँड्दैनन् ।” बोल्दै नजिक आएका आफ्ना परिचित विनोदलाई दुबैले चिनिहाले । अभिभावक जस्तो बिनोद आत्मीयता जगाइरन्छन् ।

एकछिनमै त्यहाँ खालि ट्याक्सी गुडिरहेको देख्नेबित्तिकै बिनोद इशारामा हात उठाउँछ । ट्याक्सी उनीहरू भएकै ठाउँमा रोकिन्छ । उषा र निलमालाई चढाइ बिनोद पनि आफ्नो बाइक चढेर घरतिर हुइँकिन्छ।

त्यो रात उषा निदाउन सकिनन् । कहिले यता त कहिले उता कोल्टो फेरिरहिन् । उनी निदाउन नसकेर छट्पटी रहिन् । उनलाई बिनोदले गुण्डाहरूबाट बचाएको स्मरणले छोडेको होइन । उनको यादले जरो गाड्न थालिसकेको थियो । उषाको मनको कतै कुनामा विनोद बसिसकेको थियो ।

एकै कलेजमा पढ्ने उषा र बिनोदको क्याम्पसमा भोलिपल्ट भेट भयो । देख्ने वित्तिक्कै हिजो रातको घटनाको सम्झनाले होलो दुबैजना मुखामुख गर्दै हाँसे । उषाले हिजोको कामका लागि विनोदलाइ धन्यवाद पनि दिइन् । उषाले विनोदलाई भनिन्, “ हिजो रातको घटनामा तिमी कुनै फिल्मको हिरोजस्तै गरेर आयौ । हामीलाई बचायौ । त्यस्का लागि तिमीलाई धेरै धेरै धन्यवाद छ ।” के को धन्यबाद भनिरहेको नि । तिमीहरू थोरै नचिनेका, पराया हौ र?” विनोदको कुरा सुनेर उषाको मनमा गुलाब फक्र्यो ।

समयसँगै बिनोद र उषाको निकटता बढिरहेको थियो । केही समयपछि नै उनीहरूको निकटता प्रेममा रूपान्तरण भयो । दुबै जनाको मायाँ दुवोसरि मौलाउँदै थियो । “हामी एक अर्काका लागि यस धर्तीमा जन्म लिएका हौं ।” उनीहरू दुबैले भेटमा यस्तै कुराहरू गर्दथे । केही दिन भेट नहुँदा दुबैतिर छट्पटी चल्दथ्यो ।

आज पनि देविथान डाँडामाथिको सुन्दर प्रकृतिको मनमोहक दृश्य अवलोकन गर्दै बिनोद उषाको काखमा पल्टिरहेका थिए । अनि उषा आफ्ना सुकोमल हातले बिनोदको कपाल सुमसुम्याउँदै थिइन् ।
“पर त्यो आकाशमा सेता बादलका टुक्राहरू देख्यौ उषा !”
“उम्म … देखिरहेछु ।”
“नियालेर हेर्नु त ।”

“हो म हेर्दैछु ।” मुसुमुसु हाँस्दै उषा बिनोदको कौतुहलता मेटाउने प्रयास गरिरहन्छिन् ।
“हेर बादलका बुट्टाहरू कति सुन्दर देखिरहेको । कुनै युवतीले आफ्नो केश फिँजाएर आफ्नो प्रेमीको अनुहार छोपेर माया दिइरहेको जस्तो । कति सुन्दर दृश्य !” “ओहो ! मेरो मनको राजा साहित्यकार पनि बन्ने भयो अब ।” उषा बोलिन् । अनि आफ्नो लामा लामा केशले बिनोदको अनुहार छोपिरहिन् ।
“माथि आकासमा लोभ लाग्दा बादलका बुट्टाहरू, तल धरतीमा प्राकृतिक सुन्दरता अनि तिमी मसँग भएपछि मलाई जीवनमा अरू के नै चाहिन्छ र ? मेरालागि योभन्दा ठूलो स्वर्ग अरू हुन सक्दैन । मलाई तिमी यसरी नै सधैं माया गरिहनु है उषा ।” “ हैन कुरा कत्ति जानेको तिमीले ! म यता उताको कुरो जान्दिन । तिमीबिना म बाँच्न सक्दिन, बस् यति थाहा छ मलाई ।” उषाले कुरा थपिन् ।

बिनोद उषालाई एक टक्क हेरिरहन्छ । उषाले आफ्नो कपाल फुक्का छोडेकी थिई । कपाल कम्मर मुनिसम्म झरेको उनको यौवनमा बिनोद असिम खुशीले गद्गद् थियो । उषा आज निकै सुन्दर देखिरहेकी थिइन् । यस्तो बिछ्ट्टै राम्री उषा देखेर बिनोद पनि भुतुक्कै भैरहेको थियो । त्यो एकान्त सुन्दर हरियाली टाकुरोमा मायाको जोडी देखेर आकाश पनि आल्हादित हुँदै हाँसिरहेको थियो ।

बिस्तारै मध्याह्नको राप समयसँगै मधुरो हुँदै गैरहेको देखेर नचाहँदा नचाहँदै पनि दुबै जना डाँडाबाट तल झर्छन् ।
यसरी बिनोद र उषा प्रेमको गहिराईमा डुबिरहेका थिए । आफ्नो प्रेमलाई अमर बनाउन उनीहरूले अनेक वाचा गरे, कसम पनि खाए ।

एकदिन कुरै कुरामा बिनोद हिउँदे बिदामा जागिरको लागि दुई महिना तालिम लिन बाहिर जान लागेको कुरा उषालाई सुनाउँछ ।
“पढाई नै पूरा हुनुभन्दा अघि किन जबको ट्राई गर्नु पर्ने? पहिला पढाइ नि सकेको भए हुने ।”
बिनोदसँग छुट्टिनु पर्ने पीडा सम्झेर निन्याउरो मुख लगाएर बोल्छिन् उषा ।
“तालिम त हो नि दुई महिना भनेको त छिट्टै सकिन्छ नि । म फेरि फर्केर आइहाल्छु नि पढाई पूरा गर्न ।” बिनोद सम्झाउने हेतुले भन्दै थियोे ।

आखिर बिनोद तालिमको लागि हिड्छन् । घरको आर्थिक अवस्था राम्रो थिएन । गाउँमा सामान्य खेती गरेर गुजार चलाइरहेको उनको परिवारले बडो दुःख गरेर बिनोदलाई पढाइरहेको थियो । काठमाडौ जस्तो महंगा सहरमा कुनै काम नगरी पढ्न बाहिरबाट आएकाहरूलाई निक्कै कठिन हुन्छ । त्यसैले केही इलम गरेर बुबामाथि पर्दै आएको आर्थिक भार कम गर्ने मनसाय विनोदको थियो । त्यसैले पढाईका साथै सहज जीवनयापनका लागि नै ऊ तालिमको लागि हिँडेको थियो ।
तालिम सकेर बिनोद दुईचार दिन गाउँमा बाआमासँग बसेको थियो । सधै झै उषाको सम्झनाले भेट्न आतुर भएर विनोद काठमाडौ हिंडिहाल्यो । क्याम्पस चलेको पनि दुईचार दिनै भैसकेको रहेछ । कोठामा पुग्नासाथ बिनोद लुगा फुकालेर क्याम्पसको ड्रेस लाएर क्याम्पसका लागि निस्किहाल्यो ।

ऊ उषालाई आफू आएको सुइँको नदिइकनै सरप्राइजको रूपमा एक्कासी भेट्न चाहन्थ्यो । क्लास लागेको थिएन । क्याम्पसको प्रांगणमै विद्यार्थीहरू हिँंडिरहेका थिए । बिनोदको आँखाले उषा खोज्दै थियो, तर कहिँ देख्दैन । क्याम्पसको भर्याङ उक्लिरहँदा निलमासँगै उषा पनि उक्लिरहेको देख्नासाथ बिनोद उषा भनेर चिच्याउँछ, फर्केर उषा हेर्छिन् तर त्यस्तो आकस्मिक भेट्मा पनि उषा कुनै उत्सुकता देखाउँदिन ।

“तालिम सकाएर दुईचार दिन गाउँ बसेर आएको अनि कस्तो छ तिमीलाई?
“ठिकै छ ।” उषाको ओठे जवाफ देखेर विनोद छक्क प¥यो । त्यति भनेर कुनै कुरा नगरिकन हत्तारिदै उषा क्याम्पसको कोठाभित्र छिरिन् ।

उनको व्यबहार देखेर बिनोद रनभुल्लमा प¥यो । विनोद आफू पनि कक्षाकोठामा प्रवेश ग¥यो । क्लास सकिएर पनि सधै बिनोदलाई पर्खेर बस्ने उषा त्यो दिन बिनोद निस्कनु अगावै निस्केर चाडै नै घर गैसकेकी थिइन् ।

त्यो रातभरि बिनोद निदाउनै सकेन । मन अस्थिर भएर रातभर सुत्न सकेको थिएन । निन्द्राका बीच सपनामा कतै उर्लिरहेको बाढीले आफ्नो प्रियसी बगाइरहेको देखे । बिनोद अत्तालिएर उषा उषा ! भनेर चिच्याइरहेको हुन्छ । तर निष्ठुरी पानीको भेलले उठेको छालको फोहरामा हेर्दाहेर्दै उषाले उठाइरहेका हातहरू सहित सम्पूर्ण शरीर डुबाइसकेको हुन्छ । यसरी अचानक बिनोद पसिना पसिना गर्दै त्यो डरलाग्दो सपनाबाट बिउँझिन्छ । आफ्नो जीवनबाट उषा गुमाएको सपना जस्तै आफूबाट टाढिन लागेकोमा दुःख मानिरहन्छ।

यदाकदा उषालाई बिनोदको सामु भेटिए पनि कुनै न कुनै बहाना बनाएर उनी उम्किहाल्छिन् । किन र के भएर तिमी मबाट टाढिएको भन्ने दुई शब्द पनि पोख्न नपाउँदै उषा हिंँडिसकेकी हुन्थी । मोबाइलबाट कुरा गर्दा पनि कहिले स्वीच अफ हुने कहिले उठ्दै नउठ्ने हुन थाल्यो । मानौ बिनोदसँगको त्यो प्रेमको सम्बन्ध, सँगै खाएका ती वाचा, कसम सबै झुठ र नाटक मात्र हो । उनीहरूको पहाड जस्तो चुलिएर गएको प्रेममा कसरी सुख्खा पहिरो आयो? यस्तै कुरा सोचेर विनोद अचम्ममा परेको छ ।

आफ्नो प्रेममा आएको बिचलनका कारण विनोद धेरै दिनदेखि तनावमा थियो । बिनोदको मायाँमा न कपट थियो, न छल थियो ।

“विनोद ! तिम्रो पवित्र मायालाई लतारेर तिम्रो जिन्दगीसँग खेल्ने हक उषासगँ छैन ।” साथीहरू यस्तै कुरा गर्थे । तर नियत बिगे्रको मान्छेसँग के नै लाग्छ र !

क्याम्पसको पढाईका बीच बिनोद र उषा अनेकौं ठाउँमा घुम्दै, फिर्दै आफ्नो मायाँको विरूवालाई हुर्काएका थिए । तर बीच बाटोमा विनोदलाई एक्लै बनाइन् उषाले ।

“यस्तो माया गर्ने उषाले मलाई किन घात गरिन् । मबाट केही भुल पो भयो कि? किन यस्तो गरिन् तिनले । हाम्रो प्रेमलाई जीवन्त राख्न कति कसम खाएकी थिइन् । तर आज….” मनमा यस्तै कुरा खेलाएर बसिरहन्छ विनोद । कहिले सोच्थ्योः “म उषाभन्दा आर्थिक अवस्था कमजोर भएको मानिस । त्यसैले पो हो कि । फेरि हाम्रो सम्बन्ध गाँसिनुभन्दा अगाडि पनि उनलाई मेरो घर, परिवारको बारेमा थाहा थियो । मैल आफ्नो अवस्था कहिल्यै लुकाएको त थिइन । फेरि पनि किन उसले यस्तो कदम उठाइन्?” ऊ यस्तै सोचिरहन्छ । उनको मनमा उब्जिएका अनेकौं प्रश्नहरू अनुत्तरित थिए । आफूले जीवनमा कसैलाई चोखो माया गरेबापत ठूलो सजाय पाएको जस्तो अनुभूति गर्न थाल्यो विनोदले । जिन्दगी यस्तै रहेछ भन्ने ठान्यो उसले । फेरि आफ्नो घर, परिवार पनि सम्झ्यो।

अब त उषालाई पनि बिनोदले देखे नि नदेखिएको जस्तो गर्दै हिड्ने बानी बसालिसकको थियो । आफुलाई सम्हालिन बिनोदले अतीतका स्मृतिहरू मेटाउने चेष्टा गर्न थाल्यो । पीडामा छटपटिएको मनलाई धैर्यताले मल्हम लगाउन थाल्यो ।
समयले कसैलाई पर्खने कुरा भएन । कलेजको अन्तिम वर्षको अन्तिम परीक्षा आयो । सबैले परीक्षा दिए । उनीहरूको पढाइ पनि सकियो । उषा र विनोदको भेट त्यसपछि भएन ।

केही समयपछि उषाको अन्तै बिहे भयो । त्यो खबरले पनि बिनोदलाई असर गरेन । यसरी समय गुज्रिरहेको थियो आफ्नै बेगमा । समय न कसैलाई कुर्दछ न कसैलाई सोधेर नै चल्छ । समय त आफ्नै एकोहोरा गतिमा बगिरहेको हुन्छ ।

यता बिनोद पढाई क्लिएर गरिसक्ने बित्तिक्कै जगिरको खोजी गर्न थाल्छ । तर नेपालमा पढेर पनि आफूलाई अनुकुलको जागिर बिना सोर्सफोर्स पाउन कठिन छ । नाताबाद, कृपाबादले जरो गाडिसकेको यो समाजमा बिनोदको पढाइ र लगन खेर गइरहेको थियो । आफुले भने जस्तो जागिर पाउन ऊ सफल भएको थिएन । आखिर हार खाएर बिनोद आफ्नै गाउँमा कृषि फर्म खोलेर कृषि कर्म गर्ने सोच बनायो । त्यस्को लागि पैसाको अभाब थियो । त्यस कारण कृषि विकाश बैंकबाट लोन लिने विचार उनले गरे । केही दिनको आवश्यक घरपरिवारको सल्लाह पश्चात ऊ आफ्नो जग्गा धितो राखी लोन स्वीकृतिका लागि सदरमुकाममा रहेको कृषि विकास बैंक आए ।

बैंक मेनेजर भेट्न बिनोद ढोकाबाट के छिरेको थियो, म्यानेजर देख्ने बित्तिकै उसलाई अप्ठ्यारो परेको अनुभूति भयो । घुम्ने मेचमा बसिरहेको बैंक म्यानेजर र बिनोदको आँखा जुध्यो । दुबै एकछिन त ट्वाल्ल परिरहे । एकै छिनपछि नै बिनोद जुरुक्क फर्केर जान खोजेको मात्र के थियो “बिनोद ! तिमी बैंकमा काम विशेषले आएका हौला । कार्यालयको कामका लागि आएको भए पूरा गरेर जाँदा हुन्छ ।” म्यानेजर बोलिन् । त्यस्तो आग्रह गर्ने म्यानेजर अरू कोही नभएर बिनोदको पूर्व प्रेमिका उषा थिइन् ।

यहाँ तिमी म्यानेजर रहेको थाहा पाएको भए म आउने थिइन । तिम्रो हातबाट काम लिनुपर्ने भए म आफ्नो व्यवसाय नै चलाउँदिन ।” बिनोद आफ्नो अनुहार रिसले रातो पार्दै बोल्दै थियो ।
तर उषा चुपचाप उसको आक्रोश मिश्रित आवाज सुनिरहिन् । मानौ उनी त्यहाँको हाकिम होइन कारिन्दा जस्तो देखिरहिन् । बिनोदको आँखा क्रुद्ध हुन थााल्यो तर आवेशमा आगो हुनु अगावै ऊ बाहिर निस्कियो । उषा जुरुक्क उठेर बिनोदलाई रोक्न चाहेको जस्तो देखिन्थ्यो । तर कार्यलयको मर्यादा सम्झेर हो कि टक्क अडिइन् ।

बिनोद सरासर त्यहाँबाट साथीकोमा गयो । भोलिपल्ट बिहान झिसमिसेमै मोबाइलमा घण्टी बज्यो । विनोदले मोबाइल उठाउँदै, “हेल्लो” भने । रिसिभ गर्दा उताबाट स्वर चिनें झै लाग्ने निलमाको स्वर आयो । सामान्य भलाकुसारीपछि उनले भनिन्ः “ हेल्लो बिनोद ! के छ हालखबर? आज एकपल्ट चिल्ड्रेन पार्क निरको क्याफेमा भेटौं न ।”
लामो समयपछि उषाको साथी निलमाको फोनबाट उनको मनमा कुरा खेल्न थाल्दछ । “मलाई यति वर्षपछि निलमाले किन फोन गरेको होला? किन भेट्न चाहेकी होली?” उनको मनमा यस्तै कुरा खेलिरहेको थियो । “हुन त उनी उषाकी मिल्ने साथी । के कुरा गर्न बोलाएको हो? आ.. के भेट्नु?” एक मनले भन्थ्यो । “तर कुरा के हो बुझ्नु पनि त पर्छ ।” अर्को मनले भन्थ्यो । अन्तमा साँझपख कलेजका सहपाठी निलमालाई भेट्न् ऊ क्याफे पुग्यो । त्यहाँ निलमा अगाडि नै आइपुगेकी थिई । नजिक गएर बिनोद पनि निलमासँगै बस्यो ।

सामान्य भलाकुसारीपछि विनोदले यहाँ कसरी भनेर सोध्यो । जवाफमा उषाको यहाँ सरूवा भएपछि केही दिन यतै बसौ भनी आएको भनिन् । उनको जवाफ सुनेर विनोदको मन त्यहाँ बस्न झन मानेन । उसले भन्यो, “किन बोलाएको मलाई?” यतिक्कैमा कफी आइपुग्छ । “साथीलाई भेट्न पनि कारण चाहिन्छ? तर आज भने कारण भएरै तिमीसँग भेट्न आएकी हुँ । पहिला कफी खाऔं न ।” दुबै कफी खान थाले ।

कफी खाइसकेपछि निलमा बोलिन्, “विनोद ! तिमीहरूको गहिरो मायाका बारेमा मलाई राम्ररी थाहा छ । तिमी उषालाई जति चाहन्छौ त्योभन्दा बढी उषा तिमीलाई माया गर्छे । तिमीलाई उषाले यस्तो किन गरिन त भन्ने लाग्नु स्वाभाविक छ । यस्को जवाफ तिमी उषाको यो चिठीबाट पाउने छौ । तर अब तिमीहरूको मिलन सम्भव छैन । उषा अरू कसैको भइसकेकी छिन् ।” यति भन्दै आफ्नो पर्सबाट एउटा पत्र झिकेर विदनोदलाई दिइन् र निलमा त्यहाँबाट हिँडिन् ।

उनी गएपछि विनोद त्यहाँ बसेर निलमाले हातमा थमाइदिएको पत्र पढ्न थाल्यो । पत्र पढ्दा पढ्दै उनलाई रिंगटा लागे जस्तो, कस्तो कस्तो अनुभूति भयो । ऊ आफू बसेको ठाउँबाट उठ्नै सकेन । उसको पाइतालाबाट आफू टेक्ने जमिन कसैले खोसेको जस्तै भान भइरह्यो उसलाई । उषाले पठाएको पत्र यस्तो थियोः

प्यारो विनोद,
अनेक सम्झना । तिम्रो सुन्दर भविष्यको कामनाका साथै जीवनमा उत्तरोत्तर प्रगतिको मंगलमय कामना ।
सबैभन्दा पहिले म तिमीसँग क्षमा माग्न चाहन्छु । सक्छौ भने मलाई माफ गर ।

बिनोद ! जीवन हाम्रै भएपनि हामीले चाहे जस्तो बाँच्न नपाइने रहेछ । हालातसँग सम्झौता गरेर जीवनयापन गर्नुपर्ने रहेछ । मलाई अझै पनि तिम्रो माया त्यतिकै लाग्छ । मैले तिमीलाई धोखा दिएको होइन । समय र परिस्थितिले मलाई बेवफा बनाइदियो ।
थाहा छ हाम्रो माया पवित्र थियो । तर तिमीलाई बेवास्ता गरेको, राम्रोसँग नबोलेको, पहिला जस्तै व्यवहार नगरेकोमा केही कारण छन् । म चाहन्थें कि तिमीलाई चोट पुगोस र मलाई घृणा गरोस्।

मलाई अझै याद छ, जब तिमी दुई महिना तालिमको लागि गयौ, मेरा दिनहरू छटपटिमा बित्न थाले । जाबो दुई महिना पनि तिमीसँग विछोड भएर बाँच्ने आँट ममा थिएन । मेरो मुहारको हाँसो तिमीसँगै गएको थियो । तिमी मबाट के टाढा भएका थियौ मेरा ओठ हाँस्न छोडे । गालाको गुलाबी लाली एकाएक हरायो । जहिले पनि निराश भएर बसेपछि आमाले हरेक दिन तिमीलाई के भयो नानी भनेर सोध्न थाल्नुभयो । एकदिन आमाले भन्नुभयोः “ छोरी तिमीलाई आजकल के हुँदैछ? म तिम्री आमा मात्र होइन साथी पनि हुँ छोरी भन ।” आमाको ढिपीका अगाडि मेरो केही लागेन । अन्तमा मैले हाम्रो प्रेम सम्बन्धका बारेमा सबै कुरा बताएँ । त्यसपछि मैले तिम्रो र आमाबाको तस्वीर देखाएँ । तिम्रो गाउँको बारेमा पनि बताएँ । आमाबुबाको तस्वीर देख्ने वित्तिक्कै “अनर्थ हुने भयो ।” आमा चिच्याउनुभयो ।

मैले आमालाई सोधेंः “के भो आमा किन कराउनुभएको तपाई?” मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उहाँले भन्नुभयो, “छोरी ! गाउँमा मात्र होइन अहिले पनि नेपालमा छुवाछुटको प्रथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कायम नै छ । हाम्रो सिम गाउँमा तिम्रो हजुर बुबाको ठूलो रवाफ थियो । अहिले तिम्रो मामाको भन्दा पनि ठूलो । हामी जातले ब्राह्मण । गाउँमा कसैलाई केही पर्दा हाम्रै घरमा गाउँलेहरू आउँथे । पिताजीले सधैं सक्दो सहयोग गर्नुहुन्थ्यो । झगडा मिलाइदिने, अंशबन्डा गरिदिने काम हाम्रै आँगनबाट हुन्थ्यो । चाडपर्व मनाउन अप्ठ्यारो पर्दा बुबा दिल खोलेर सहयोग गर्नुहुन्थ्यो । तर त्यहाँ गाउँमा ठूलो जातिय विभेद थियो । त्यस्तो ठाउँमा गाउँका ठालुको छोरी तिम्री ठूली आमा गाउँकै भुजेल केटोसँग भागेर विवाह गरे । मेरो पिताजीले त्यो पीडा सहन गर्न नसकेर उहाँ स्वर्गीय हुनुभयो । हामीमाथि ठूलो बज्रपात प¥यो । त्यही कारणले गर्दा दिदी र भिनाजुलाई गाउँ निकाला गरे । हामीले पनि पिताको मृत्युको कारण दिदीलाई ठह¥याएर उनीसँग सम्बन्ध तोडेर बस्यौ । त्यो बेलादेखि उनीसँग हाम्रो भेटै भएन । केही वर्षपछि दाइले मेरो विवाह शहरमा गरिदिनुभएपछि भेट् हुने सम्भावना झन् कमजोर भयो ।” उहाँले थप्पदै भन्नुभयो, “ छोरी उषा अहिले तिमीले मलाई जस्को फोटो देखायौ नि तिनी मेरी तिनै दिदी हुन् । अनि नातामा त्यो केटो तिम्रो दाइ पर्छ । अब कसरी हुन्छ बिहे?” आमाको कुरा सुनेपछि म त शुन्यमा विलाएँ । मैले टेक्ने धर्ती पूरै भास्सिएको महसुस भयो । आकास टोलाए जस्तो अनि धर्ती डोलाए जस्तो भयो । तर आफूले आफैलाई सम्हाल्नुको विकल्प थिएन । आमा पनि धेरै रुनुभयो । आमाको काँपेको स्वर, लर्वराएका ओठ देखेर मैले पनि आँसु रोक्न सकिन । आमाछोरी धेरै बेरसम्म रोयौं । अन्तमा मैले आमाको भावना, सामाजिक मूल्य र मान्यताका अगाडि घुँडा टेक्नै प¥यो । हामी समाजमा बस्छौ । त्यसैले समाजले बनाएको नियमलाई पनि पालना गर्नै पर्छ । सके म अभागीलाई माफ गरिदिनु । उही अभागी उषा ।

उषाको चिठी पढेपछि विनोदको मनमा बहँदै गरेको घृणाको नदी सुकिसकेको थियो । तर समय र सामाजिक बन्धनप्रति रिस पनि उठ्यो उनलाई ।
बिनोद आफू बसेको ठाउँबाट जुरुक्क उठ्न खोज्छ, तर पहाडले थिचिएको झै भान हुन्छ उसलाई । तर विनोद आफूलाई सम्हाल्छ । समयले आफूमाथि गरेको अन्यायबाट ऊ आहत हुन पुगेको छ । एकछिन अगाडिसम्म उषाप्रति देखिएको घृणाको पहाड एकाएक पत्र पढेपछि ढलेको छ । उषाप्रति उनको मनमा अब श्रद्धाको गुलाफ फुल्न थालेको छ । आफ्नो असफल प्रेमको दोष अब उसले उषालाई दिन छोडेको छ । आफू बसेको सोफाबाट विस्तारै उठ्दै विनोद क्याफेबाट बाहिरिन्छ ।

(लेखक ध्रुबकृष्ण ताम्राकार पनौतीका बासिन्दा हुन्। उनी कथा, कबिता तथा गीत लेखनमा कलम चलाउछन्।)

प्रतिक्रिया दिनुहोस