विदेशी १४ देशकासहित काठमाडौं विश्वविद्यालयबाट करिब १७ सय विद्यार्थी दीक्षित

नौलो समाचार संवाददाता
२०७९ मंसिर २९, बिहिबार मा प्रकाशित ११५२ पटक पढिएको
विदेशी १४ देशकासहित काठमाडौं विश्वविद्यालयबाट करिब १७ सय विद्यार्थी दीक्षित

मंसिर २९, काभ्रे। काठमाडौं विश्वविद्यालय (केयु)ले २८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा करिब १ हजार ७ सय जना विद्यार्थीलाई स्नातक उपाधि प्रदान गरेको छ।

स्कुल अफ साइन्स, इन्जिनियरिङ, एजुकेशन, म्यानेजमेन्ट, आर्ट्स, ल र मेडिकल साइन्सेज विधाका विभिन्न कार्यक्रममा अध्ययन पुरा गरेका १ हजार ६९५ जना विद्यार्थीलाई स्नातक उपाधि प्रदान गरेको हो।

प्रधानमन्त्री तथा विश्वविद्यालय कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ फिजिसियन तथा मुटु रोग विषेशज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एंव सहकुलपति देबेन्द्र पौडेल पनि उपस्थिति भएका थिए । कार्यक्रममा काठमाण्डौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले स्वागत मन्तव्य राखेका थिए छन्।

दीक्षित हुनेहरूमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ ल म्यानेजमेन्ट, मेडिकल साइन्सेस र साइन्स विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन्।

तीमध्ये आर्ट्सका २ सय २० जना,एजुकेसनका २ सय २ जना, इन्जिनियरिङका २६ जना, लका ४० जना, म्यानेजमेन्ट ४ सय ६२ जना, मेडिकल साइन्सेजका ७ सय १२ जना र साइन्सका ३७ जना विद्यार्थी रहेका छन् ।

दीक्षित हुने विद्यार्थीहरुमध्ये पुरुषको प्रतिशत ४३.२० ( ६ सय ३४ जना) र महिलाको प्रतिशत ५६.८० (९ सय ६५ जना) रहेको छ । दीक्षित हुनेहरुमध्ये विदेशी विद्यार्थीहरु १०.९५ प्रतिशत रहेका छन् ।

तीमध्ये अस्ट्रिया क्यानडा, चीन, जर्मनी, भारत, इटाली माल्दिभस, पोर्चुगल, रूस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १ सय ८६ जना रहेका छन् ।

कार्यक्रममा काठमाण्डौँ विश्वविद्यालयको इतिहासमा पहिलो पटक Master of Engineering in Sanitation Technology मा ६ जना र Master of Science in Sanitation Technology मा १ जना गरी जम्मा ७ जनालाई उपाधि प्रदान गरिएको छ।

नेपालको चिकित्सा क्षेत्रमा सेवा प्रदान गरिरहेको कुल जनशक्ति मध्ये ५० प्रतिशत योगदान काठमाण्डौ विश्वविद्यालयको रहेको उपकुलपति प्रा.डा थापाले बताउनुभयो । ज्ञान र सीपलाई समाजसम्म लैजाने मूल उद्देश्यका साथ स्थापित केयुका विभिन्न स्कुलहरुमा हाल करिब ८५ वटा अनुसन्धानमुलक परियोजनाहरु सञ्चालित छन् ।


प्रतिक्रिया दिनुहोस