झरना

ध्रुबकृष्ण ताम्राकार, पनौती
२०७९ पौष ९, शनिबार मा प्रकाशित ४४९ पटक पढिएको
झरना

भर्खरै बिउँझेको थिएँ । यसो बाहिर हेर्दा हुस्सुले आकाश बिल्कुलै ढाकिरहेको थियो ।

चिसो बिहानीमा । मर्निङवाक हिड्न पनि डर । अचानक मोबाइलमा घण्टी बज्यो । ‘हेल्लो….! को बोल्नुभएको होला? ’ मैले उताको स्वर चिन्ने प्रयास गर्दै प्रश्न सोधें । ‘घ्याम्पे डाँडाको जङ्गलमा एउटी केटी झुण्डिएर मरिसकेको भेटिएको छ । तल भुँइमा तपाईंको फोटो भेटिएकोले सोधपुछको लागि यता आउनु पर्ने भयो है तपाइँ ।’ उताबाट बोल्यो । म अत्तालिएँ । मेरो शरीरबाट चित्चित् पसिना झर्दै थियो । यस्तो पुष माघे जाडोमा पनि गर्मीले उकुसमुकुस भयो मलाई !

म निकै डराएँ । ती केटी को होलिन्? किन उनले आत्माहत्या गरिन्? र मेरो फोटो भुँइमा कसरी आयो? मेरो र उनको सम्बन्ध के थियो होला? यस्तै कुरा मनमा खेलिरह्यो । मनमा डर, त्रासले घरजम ग¥यो । कतै कल्पना नै गर्न नसकेको घटनाले आफूलाई किन तानिरहेको होला भनेर सोच्दै म बाहिर हत्तारिदैं घ्याम्पे डाँडा पुग्न डौडिएँ ।

जङ्गलको बीचमा रुखको फेदीमा नाइलनको सारीले पासो लगाएर आत्महत्या गरेकी रहेछिन् । वरिपरिका मान्छेहरू तिनी को हुन्? किन यहाँ आएर मरेकी होलिन्? भनी एउटा अपरिचित लासको सनाखत खोजिरहेका थिए । मान्छेको भीड अलि छिचोल्दै म मृतकको अनुहार चिन्ने प्रयास गरिरहें । बल्ल थाहा भयो । उनी त सोच्दै नसोचेकी डाँडापारी कि फूलमाया पो रहिछिन् ।
म अचम्म र चकित भएँ । यति टाढा र एकान्त जङ्गलमा आएर किन झुन्डिएर मरेकी होलिन् फूलमाया भन्दै म घोरिन पुगें । अनायासै मेरो आँखामा विगतका यादहरू सल्बलिन थाल्छन् ।

म आनन्दले विभोर थिएँ । प्रकृतिको हराभरा । हरियाली वातावरण, सुन्दर त्यो डाँडा गाउँ ! कलकल बग्दै गरेको नदी, झर्दै गरेको सुन्दर झरनाको पानी अनि त्यस्को सौन्दर्य । नागबेली गोरेटो बाटो । यी सबै देखेर मन प्रफुल्ल हुन्थ्यो । जागिरको सिलसिलामा म विगत केही वर्षदेखि त्यो विकट गाउँको अस्थाइ हेल्थ पोष्टमा कार्यरत थिएँ ।

त्यहाँ बस्दा प्रायः दिउँसो झरनाको पानीमा नुहाउने गर्थेँ । शनिश्चरवार धेरै बेर नुहाइसकेपछि प्रकृति उद्यानभरि झुमिरहन्थें । यहि क्रममा त्यही गाउँकी सरल, सोझी गाउँले केटी फूलमायासँग मेरो भेट भएको थियो ।

एक दिन, दुई दिन हुँदै उनी मलाई डाक्टर दाज्यु भनेर मसँगै निकटता गाढा गर्दै आफ्नो बाटो सोझ्याउँदै हुन्थिन् । मेरो ठट्टा गर्ने ठट्यौली स्वभाव हुँदा म उनीसँगै प्रायः भेट्मा म ठट्टा गरिरहन्थें । यसरी समय बित्ने क्रममा उनले नजानिदो किसिमले मलाई प्रेम गर्न पुगेछ । समयले यति नजिक लिएर आउँछ भनेर मैले सोचेको पनि थिइन । म बिना उनी बाँच्नै नसक्ने जस्तो छट्पटी भइरहेकी थिइन । तर उनको आँखामा मप्रति एकोहोरो जुन मायाको आशक्ति थियो त्यसमा त पहिलो म बिल्कुलै अनभिज्ञ थिएँ । उनलाई मैले आफ्नै बनाउने प्रेमको भावले कहिल्यै हेरेको थिइन । केही हुँदा स्वास्थ्यचौकीमा आउने गर्दथिन् । उनलाई मात्र होइन मैले सक्ने सबैका लागि गरिरहेकै हुन्थें ।

त्यो ठट्यौली पाराबाट उनी नजिकिँदै रहेछिन् । आफ्नै एकोहोरो माया वर्षाइरहिन् । सुरुमा त पत्तो पाइन । पछि पो उनको हाउभाउ र आशयले मलाई महसुस गर्न बाध्य बनायो । उनको हाउभाउ, कुराकानीले साङ्केतिक रूपमा आफ्नो माया प्रकट गरिरहेकी थिइन् । मैले उनको मौन इशारा बुझ्न् थालें । अर्थ को अनर्थ होला भनी सम्झेर म उनलाई पहिले जस्तो जिस्क्याउने गर्दिन थें । हँसिमजाक पनि बन्द भयो । उनले गरेको पे्रमानुभूतिबाट म टाढिन खोज्थें ।

‘हैन फूलमाया ! तिम्रो र मेरो रहन सहन नै अलग ।
भौगोलिक दुरी नै धेरै धेरै टाढा छ । यो मेल हुन सक्दैन
बश, तिम्रो र मेरो नाता साथी साथीको मात्र हो ।’ भन्दै उनलाई सम्झाउन मन लाग्छ । तर उनी मुस्कुराउंँछिन् मात्र । मायामा सबै जायज हुन्छ । फरक दुरिले केही नापिंदैन भन्ने मौन अभिव्यक्ति मात्रै दर्शाइरहन्छिन् । उनको एकोहोरो मायाभित्र म हारें कि जितें स्वयम् म आफै अनिर्णयको बन्दी भैरहें ।

एकदिन आकाशबाट पनि पानी झरिरहेको थियो । झरनाको पानीभन्दा बढि जोडले दर्किरहेको थियो । झरनाको पानी कञ्चन, निर्मल थियो । एकनासले सौन्दर्य फाल्दै झरिरहेको हुन्थ्यो झरना । बर्षाको पानी त कर्कस लाग्ने । पानी निरन्तर दर्किरहेको थियो ।
फूलमायाको कारणले कहिँ केही अप्रत्याशित घट्छ कि भनी आशंकाले घेरिरहेको थियो । अचानक निथ्रुक्क भिज्दै फूलमाया मेरो कोठामा पसिन् । मलाई घुरेर हेरिरहिन् । कता कता उनको घुराईले मलाई डर लाग्दै थियोे ।

‘हैन हजुर यो गाउँ छाडी केही दिनपछि शहर जाँदै हुनुहुन्छ भन्ने कुरो सुनें, के साँचो हो?’
उनको विचलित प्रश्नले म एकछिन त अकमकिएँ ।

‘हैन फूलमाया, म जागिरे मान्छे । सरकारले सधै मलाई यहि राख्छ र? मलाई अर्कै ठाउँमा सरुवा गरी पठाइएको
छ ।’ म उनलाई सम्झाँंदै थिएँ ।

यसो भनिरहँदा उनी तल भुँइमा खुट्टाको औलाले कोट्याउदै थिइन् । मैले उनको मुण्टो बिस्तारै हातले उठाउँदा उनी गहभरि आँसु झारिरहेकी थिइन् ।

आज उनीप्रति मलाई पनि निकै माया लाग्यो । हिजोको ठट्यौलिले यति माया फूलमायाले मनमा साँचिराख्छिन् भनेर मैले सोचेको पनि थिइन् । त्यसपछि उनी केही नभनिकन फनक्क फर्केर कोठाबाट बाहिरिन् । म केही भन्न नसक्ने निष्ठुरी झै ट्वाल्ल परि हेरिरहें । बहिर मुसलधारे बर्षा अझै डरलाग्दो गरी दर्किरहेको थियो । मनमा पनि अन्यौलताको पानी दर्किन छोडेन ।

त्यो दिनदेखि मेरो भेट उनीसित भएन । म त एक्लै पनि झरनामा जान त गइरहें तर मलाई पहिला जस्तो झरनाको पानी मिठो लागेन । किन किन मेरो मन पनि उदास लाग्न थाल्यो । साँच्चै म पनि उनलाई भित्रभित्रै मनपराउन थालें । तर म जस्तो एउटा सामाजिक जिम्मेवार ब्यक्तिले अहिले नै उनलाई अपनाएर लैजान मेरो अन्तरमनले स्विकृती दिएन । यद्यपि उनको माया मेरो मनमा फुलिरहेकै थियो ।

आखिर सरुवाको दिन आइहाल्यो अघिल्लो दिन नै मैले सरकारी कागजात सबै मिलाइसकेको थिएँ । त्यो दिन झरना नजिकै उनी आउँछिन् की भने आशा लिई म निकैबेर कुरिरहें । तर अफसोच उनको र मेरो भेट समयले गराएन । भोलिपल्ट म भारी मन लिएर गाउँ छाडी शहर पसें ।
दिन बित्यो, हप्ता बित्यो अनि महिना पनि बित्दै गयो । साँचिराखिराखेको माया पनि विस्तारै टाढिंदै गइरह्यो । घरमा रोगी आमा थिइन् । घरको नियमित कामकाज गर्न पनि हामीलाई निकै कठिन हुँदै आएको थियो । अरु हेर्ने कोही भएनन् भनी बाबा र आमाले मलाई बिहेका लागि जोड गर्नुभयो । मन त बिहेका लागि राजी थिइन तर घरको बाध्यताले हुन्छ भनें । बिहे भएको पनि दुई वर्ष भैसक्यो । अहिले त एक बर्षे नानी मेरो काखमा खेल्ने भैसक्यो ।

समय सँगै को अडिन सक्छ र ! हप्तादिन अगाडि मात्र मैले छाडेको गाउँको एकजना केटोलाई भेटेको थिएँ । ऊ भन्दै थियोे, ‘तपाईं गएदेखि फूलमाया अर्धपागल झै यताउता दगुर्दै प्रायः झरना वरिपरि घुमिरहेकी हुन्थिन् । जुनबेला तपाईं गाउँबाट शहर जाने कुरा चलेको थियो त्यही दिन उनको र तपाईको सम्बन्ध बारे फूलमायाको बाउले थाहा पाएछ । त्यसपछि रिसले चुर भएर उनलाई त्यो जड्याहा बाउले कुटेर त्यस दिनदेखि कोठामा थुनिराखेको रहेछ । त्यो दिनदेखि फूलमायाको मानसिक सन्तुलन बिग्रंदै गएको थियो ।

पछि सम्हाल्न नसकेको अबस्था देखेर फूलमायाको बाउले त्यसै छाडिदिए ।’ उसको कुरा सुनेर मलाई कस्तो कस्तो लाग्यो । उसले फेरि थप्दै भन्यो, ‘कहिले हाँस्ने, कहिले रुने गर्थिन् फूलमाया । उनको हातमा तपाईको फोटो एउटा चाहिँ कहिंले नि नछुट्ने रहेछ । उनको हालात देखेर गाउँलेहरू मन पनि रोएको थियो । तर उनी कहिलें नि सामान्य अवस्थामा आइनन् ।’ अनि औषधि गरेनन्?’ मैले जिज्ञासा प्रकट गरें । ‘गाउँमा… उनको बुबाले पनि खासै वास्ता गरेन । बिहानैदेखि जाँड खाने मान्छेको के भर? यदाकदा यस्को दोष गाउँलेहरू तपाईंलाई पनि दिंदारहेछन् । माया नै लागेपछि यत्तिकै छोडेर जाने निष्ठुरीलाई कुनै दिन पापै नलाग्ला र? भन्थे ।’ उनको कुराले अचानक मनमा चिसो पस्यो ।
समय आफ्नै गतिमा अगाडि बढिरह्यो । झरनाको पानी पनि अचेल त्यति कञ्चन भएर बग्दैन । सायद झरना पनि रुष्ट हुँदै आफ्नो बहाव कम गरेर झरिरहेको जस्तै लाग्यो ।

केही दिन अघिको कुरो हो गाउँभर फूलमाया हराएको हल्ला चलिरहेको थियो । मानसिक सन्तुलन बिग्रेकी अर्धपागल भए पनि प्रायः गुमसुम बसिरहने, कसैलाई नसताउने सोझी फूलमायाप्रति गाउँलेहरूको सहानुभूति धेरै थियो । कता गई, के खाई होलिन् कहिँ अनिष्ट्को खबर सुनुपर्ला कि भन्दै पिरोलिँदै छन् भनी त्यो केटोले बेलिविस्तर लगायो । केटाको आँखामा पनि आँसु भरिएर आएको थियो । त्यो केटोको कुरा सुनेर मेरा आँखा पनि रसाए ।

यी सबै कुरा थाहा पाएपछि मलाई फूलमायाको यादले सतायो । मेरो मन विगतको संस्मरणमा दौडियो । हँसिलो अनुहार, मीठो बोली, कहिल्यै रिसाउन नजानेकी फूलमाया साँच्चिकै फूल जस्तै थिइन् । तर उनी हराएको खबरले एकाएक मेरो मनमा चस्का पस्न थाल्यो । सायद उनी मलाई नै खोजी भौतारिदै आएकी होलिन् । तर मेरो आँगनमा मैले आफ्नी नानी खेलाइ बसेको देखेर बिरक्तिएर यहि माथिलो जङ्गलमा झुण्डिएर उनले प्राण त्यागेकी होलिन् भन्ने विचारले मलाई सोच्न बाध्य बनाउँदै थियो ।

‘के यो फोटो तपाईंको होइन र?’ भीडबाटै एउटा
अधबैंशे व्यक्तिले मलाई हेरेर ठूलो स्वरले कराउँदै गरेको देखेर म झसङ भएँ !!

  • ध्रुबकृष्ण ताम्राकार, पनौती

प्रतिक्रिया दिनुहोस