नमोबुद्ध नगरपालिकाका ४ वडामा  ‘कृषि नलेज पार्क’

नौलो समाचार संवाददाता
२०८० माघ २४, बुधबार मा प्रकाशित २४७ पटक पढिएको
नमोबुद्ध नगरपालिकाका ४ वडामा  ‘कृषि नलेज पार्क’
नमोबुद्ध नगरपालिका वडा नं ४ स्थित नलेज पार्क ।

भकुण्डेवेशी \  नमोबुद्ध नगरपालिकाका ४ वटा वडामा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालन गरिएको छ ।

वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड), अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक तथा प्राविधिक सहयोगमा नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको जलवायु अनुकुलन समाधान कार्यक्रम अन्तर्गत वडा नं २, ३, ६ र ४ मा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालन गरिएको हो ।

विश्वमा बढ्दोे जलवायु परिवर्तनका असरहरु देखिरहेको सन्दर्भमा जलवायु अनुकल प्रविधिहरुको प्रदर्शनी गर्ने, विषादी न्यूनिकरण गर्नुका साथै नमुना गाउँ विकास गर्नको लागि सिकाई केन्द्र सञ्चालन गरिएको सिप्रेडका कृषि तथा जलवायु परिवर्तन प्राविधिक मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार, चार स्थानमा रहेका ती ‘नलेज पार्क’ मा झोल मोल उत्पादनका साथै विभिन्न खालका मोहनी पासो, सिंचाई पोखरी, माटो निर्मलिकरण, टाडे नर्सरी, थोपा सिंचाई, मल्चिङ प्रविधि आदिको प्रदर्शनी हुन्छ । ‘उत्पादन बढी कसरी गर्ने, जलवायु परिवर्तनको असर कसरी घटाउने र विषादी न्युनिकरण कसरी गर्ने भन्ने कुरा ती नलेज पार्कमा सिकेर कृषकहरुले आफूले प्रयोग गर्नुहुन्छ,’ सिलवालले भने । सिप्रेडले हालै वडा नं ४ नलेज पार्क सञ्चालनमा ल्याएको छ ।

नमोबुद्ध वडा नं २ का कृषक इन्द्रबहादुर कुइकेलले ३–४ बर्ष अघि सिकेको सीप र तालिम र प्रविधीले अहिले थप प्रतिफल दिन थालेको बताए । उत्पादन बढी लिन बिषादीको बढी प्रयोग गर्न नहुँने भन्दै उनले नलेज पार्कमार्फत धेरै सिकाइ भएको बताए ।

नमोबुद्ध वडा नं ६ का कृषक भरत न्यौपानेले नलेज पार्क सञ्चालन अघि अन्धाधुन्ध विषादीको प्रयोग गर्ने गरिएको र स्वास्थ्यमा समेत असर गरेको भन्दै त्यसपछि ज्ञान, सीप जाने व्यवस्थित रुपमा कृषि गर्न थालिएको बताए ।

वडा नं २ कै कृषक तुलबहादुर तामाङले नगरपालिकामार्फत सहयोग पाएको ८ वटा टनेलमा गरिएको गोलभेंँडा खेतीले २ लाखको आम्दानी लिएको भन्दै खुशी व्यक्त गरे ।

वडा नं ६ स्थित राधाकृष्ण कृषक समुहकी मुना कार्कीले विउ, झोल मल, भकारो सुधारको लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताइन् ।

वडा नं ४ स्थित वातावरण कृषक समुहका सचिव रामबहादुर भुजेलले बेर्नादेखि नै राम्रो गर्न सकियो भने त्यसले राम्रो उत्पादन दिने भन्दै सिंचाईको व्यवस्था गर्न माग गरे ।

नमोबुद्ध वडा नं १० का कृषक बाबुराम देवकोटाले नगरपालिकामा माटो प्रयोगशाला हुनुपर्ने बताए ।

नगर प्रमुख कुनसाङले कृषकहरुको मागहरु आए तत्काल सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै उत्पादन बढाउने र नमोबुद्धको पहिचान हुने गरी काम गर्न अनुरोध गरे । कृषकको आयआर्जन बृद्धि गर्न एक घर एक मौरी घार कार्यक्रम लागू गर्न खोजेका भन्दै उनले उत्पादन बृद्धि गर्ने कृषकलाई जहिले पनि प्रोत्साहन गर्ने बताए ।

उनले कृषि उपजको भण्डारणको लागि नगरकै गौरबको आयोजनाको रुपमा चिस्यान केन्द्र निर्माण गरिरहेको पनि उनले जानकारी दिए । उनले सिकाई केन्द्रलाई बाँकी वडामा पनि विस्तार गर्ने बताए ।

नगर उपप्रमुख रत्नबहादुर लामाले तीनवटै तहका सरकारले कृषिलाई प्राथमिकता दिएको भन्दै त्यसबाट लाभ लिन कृषकहरुलाई अनुरोध गरे ।

नगरपालिकामा सञ्चालित जलवायु अनुकूलन कार्यक्रममार्फत पहिलो चरणमा स्थानीय लागत सहभागिता समेत ९९ लाखको काम भएको थियो ।

८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैयाँ कुल लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरिएको छ । चालू आर्थिक बर्षमा पनि संघीय शसर्त अनुदान १ करोड र प्रदेश शसर्त ५० लाख विनियोजन भएको छ ।

प्रति च्याम्बर ३० मेट्रिक टनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने क्षमता छ ।


प्रतिक्रिया दिनुहोस