मन्त्री तीर्थ लामालाई भुम्लुवासीको अनुरोध, ‘दोलालघाटमा तटबन्ध, कोलाँतीमा सामुदायिक भवन’

नौलो समाचार संवाददाता
२०८० फागुन १, मंगलबार मा प्रकाशित ७३५ पटक पढिएको
मन्त्री तीर्थ लामालाई भुम्लुवासीको अनुरोध, ‘दोलालघाटमा तटबन्ध, कोलाँतीमा सामुदायिक भवन’
२०७८ असारमा इन्द्रावती नदीमा आएको बाढी र जोखिममा रहेको दोलालघाट बजार । फाइल तस्वीर

भुम्लु / बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत भुम्लु गाउँपालिकामा सञ्चालित योजना अनुगमन, निरिक्षण गर्न पुगेका मन्त्री तीर्थ लामालाई दोलालघाटमा स्थानीयले बजार र पुल जोगाउनको लागि तटबन्धनको व्यवस्था गरिदिन अनुरोध गरे ।

२०७८ असारमा मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती खोलाको सतह समेत बढेपछि दोलालघाट बजार र अरनिको राजमार्ग अन्तर्गत रहेको पुल जोखिममा देखिएको थियो । खोलाको सतह बढे नै पिच्छे त्रासमा रहनुपर्ने भन्दै दोलालघाटवासीको तर्फबाट उपाध्यक्ष जितेन्द्रमान तामाङले सहभागीकै विच मन्त्री लामाको ध्यानाकर्षण गराएका थिए ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख विनय पौडेलसहित पुगेका मन्त्री लामाले तत्काल प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिए ।

चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्ला जानको लागि दोलालघाटको सो पूल प्रयोग हुन्छ ।

२०७८ असारमा मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका थिए । सोही कारण बस्ती जोखिममा पर्ने भन्दै जिल्ला विपद व्यवस्थापन समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीमा तटबन्ध गर्न उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

कोलाँती भुम्लु पुगेका मन्त्री लामालाई स्थानीयले विभिन्न माग राख्दै पुरा गर्न अनुरोध गरे । स्थानीय जनता माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष सुमन नेपालीले विद्यालय भवन अभाव भएको र दलित बस्तीमा सामुदायिक भवन निर्माण गरिदिन अनुरोध गरे ।

स्थानीय समाजसेवी नवराज उप्रेतीले वडा नं ६ मा सिंचाईको लागि विनियोजित ३० लाख, गाइचौरवाट आँपघाट जाने सडकमा विनियोजित ३० लाख अपर्याप्त भएको भन्दै थप बजेट व्यवस्थापनको लागि अनुरोध गरे ।

अधिकाशंले खानेपानीको समस्या रहेको र लिफ्टिङ आयोजना खर्चिलो हुने भएकोले त्यसको लागि सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

स्थानीय शुक्र माझीले माझी र पहरी बस्तीमा खरबुजा र मेवा उत्पादनको लागि आयमूलक काम सुरुवात गर्न अनुरोध गरे ।

भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले सामुदायिक भवन जस्ता साना योजना स्थानीय तहले सम्बोधन गर्ने भन्दै प्राथमिकता क्रम अनुसार काम गर्दै आएको बताए ।

मन्त्री लामाले सामुदायिक भवन निर्माणका साथै खानेपानीमा कुनै समस्या नहुने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले खानेपानीको समस्या समाधान नहुञ्जेल निरन्तर बजेट विनियोजन गर्ने बताउँदै नियमित खानेपानी खुवाउने गरी काम गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस