कार्यसम्पादन मुल्याकंनमा काभ्रेमा रोशी गाउँपालिका पहिलो

नौलो समाचार संवाददाता
२०८० फागुन १०, बिहिबार मा प्रकाशित ४०३ पटक पढिएको
कार्यसम्पादन मुल्याकंनमा काभ्रेमा रोशी गाउँपालिका पहिलो

बनेपा  /  स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ स्थानीय तहहरू मध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ । देशभरका गाउँपालिकामा ७ औें र ७ सय ५३ स्थानीय तहमध्ये उत्कृष्ट १३ औं स्थानमा परेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/ ०८० को प्रारम्भिक नतिजा अनुसार रोशीले ४८ दशमलव ३९ अंक प्राप्त गरी जिल्लामा पहिलो बनेको हो ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ ।

आयोगको नतिजा अनुसार, पाँचखाल नगरपालिका ४१ दशमलव ७३ अंकसहित दोस्रो भएको छ । चौरीदेउराली गाउँपालिकाले ३९ दशमलव ५८ अंक प्राप्त गरी तेस्रो, ३७ दशमलव ५३ अंकका साथ धुलिखेल नगरपालिका चौथो नम्बरमा परेको छ ।

पाचौं नम्बरमा पर्ने बनेपा नगरपालिकाले ३७ दशमलव ५ अंक, छैठौं स्थानमा पर्ने महाभारत गाउँपालिकाले ३४ दशमलव २२ अंक, सातौं स्थानको तेमाल गाउँपालिकाले २८ दशमलव २४ अंक, आठौं स्थानको नमोबुद्ध नगरपालिकाले २८ अंक प्राप्त गरेको छ ।

खानीखोला गाउँपालिकाले २६ दशमलव ३४ अंक प्राप्त गरी नवौं स्थान, बेथानचोक गाउँपालिकाले २५ दशमलव ४४ अंक प्राप्त गरी दशौं स्थान, मण्डनदेउपुर नगरपालिकाले २२ दशमलव २८ अंक प्राप्त गरी एघारौं स्थान र भूम्लु गाउँपालिकाले १९ दशमलव ५० अंक प्राप्त गरी बाहौं स्थान प्राप्त गरेको छ ।

१८ दशमलव ८२ अंकका साथ पनौती नगरपालिका अन्तिम स्थानमा परेको प्रतिवेदनमा छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो । असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरेर/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे / नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/ नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरु छन् ।

आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भ जाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पुर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका आधारमा मूल्याकंन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस