धुलिखेल–खावा सडक : कानूनमा नभएको ‘सहमति’, अझै सुस्त काम

कामले गति लिएको छ, केही दिनमा प्रगति देखिन्छ : जि.स.स प्रमुख गौतम
नौलो समाचार संवाददाता
२०८० चैत्र २४, शनिबार मा प्रकाशित १२३ पटक पढिएको
धुलिखेल–खावा सडक : कानूनमा नभएको ‘सहमति’, अझै सुस्त काम

खावा /  समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको निर्माण सक्न दबाब दिन भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले २०८० फागुन ११ गते अनसन थाले । ‘असम्बन्धित मानिस’ले ‘सस्तो लोकप्रियता’को लागि अनसन बसेको भन्दै सामाजिक सञ्जालमा गौतमको आलोचना भयो भने केहीले उनको प्रशंसा पनि गरे ।

‘जिल्लावासी नागरिक’ को हैसियतमा बसिएको भनिएको अनसन निर्माण व्यवसायीले तत्काल निर्माण थाल्ने लिखित प्रतिवद्धता गरेपछि भोलिपल्ट नै  तोडियो ।

गौतमसहित प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतका सुरक्षा निकाय, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख अर्जुनप्रसाद अर्याल लगायतको उपस्थितीमा निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयका प्रतिनिधीविच ५ बुँदामा भएको सहमतिमा फाल्गनु १५ भित्र कम्तीमा १ सय जना जनशक्ति, ४ वटा एक्साभेटर, ७ वटा टिपर लगायत निर्माण सामाग्री परिचालन गरी निर्माण कार्यलाई द्रुत गतिमा अगाडी बढाउने, उक्त कार्य अघि नबढे सडक डिभिजन कार्यालय ठेक्का तोड्ने प्रकृयामा अघि बढ्ने, ठेक्का तोड्न निर्माण व्यवसायीको सहमति रहने र निर्माण व्यवसायी कुनै उजुरबाजुरमा नजाने सहमति थियो । धुलिखेल वडा नं ८ का अध्यक्ष विनोद गौतम र पाँचखाल वडा नं ५ का अध्यक्ष सिताराम ढुंगानाको रहोबरमा सडक डिभिजन कार्यालय भक्तपुरको तर्फबाट प्रमुख मेघराज मरासिनी, इञ्जिनियर सुमन बस्नेत र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाको तर्फबाट सञ्चालक रामकुमार थापा र निर्देशक विशाल थापाले सहमतिमा हस्ताक्षर गरेका थिए ।

शुरु देखि नै कामलाई गति दिन नसकेका निर्माण व्यवसायीले रातारात ‘चमत्कार’ गर्ने कुरा थिएन । केही जनशक्ति थपिएपनि सहमति पछि पनि निर्माण व्यवसायीले कामलाई गति दिन सकेनन् र सहमति अनुसार ३७ दिनपछि पनि २ किलोमिटर पिच हुन सकेन ।

ठेक्का तोड्ने सहमति गरेका सडक विभागका कर्मचारीले चैत्र २० गते भने सहमतिको ‘कानूनी आधार नभएको’ भन्दै सार्वजनिक खरिद ऐन अनुसार नै प्रकृया अघि बढाइएको बताए । ‘सहमति त काम अघि बढोस् भन्नको लागि गरिएको हो, त्यसको कुनै कानूनी आधार छैन, हामीले नेपाल सरकारको नियम अनुसार गर्ने हो,’ सहमतिमा हस्ताक्षर गरेका सो सडक हेर्ने सडक डिभिजन कार्यालयका इञ्जिनियर समुनराज बस्नेतले भने, ‘हामीले यथार्थ प्रतिवेदन दिन्छौ, सोही आधारमा हर्जना लगाउने की नलगाउने भन्ने निर्णय हुन्छ, नियमत उहाँहरुले १ सय ८० दिनको अवधी पाउनुहुन्छ, १ सय ८१ दिनमा पनि काम भएन भने के गर्ने भन्ने निर्णय हुन्छ ।’

‘कानूनमा नभएको सहमति किन गर्नुभएको’ भन्ने प्रश्नमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले आमरण अनसनले काम गर्न दबाब बढाएको बताउँदै कामले गति लिएको दबाब दिए । ‘जुनसुकै तरिकाले दबाब दिँदा पनि काम नभएपछि बाध्य भएर आमरण अनसन थालिएको हो, मेरो रहर वा सस्तो लोकप्रियताको लागि आमरण अनसन बसिदैन होला,’ गौतमले भने, ‘अनसन र सहमति पछि दबाब भएका कारण निर्माण व्यवसायीले काम अघि बढाएका छन्, अब केही दिनमा प्रगति देखिनेछ ।’

२०७२ साल जेठ २० गते सम्झौता भएर २०८० साल चैत्र १९ गते सम्पन्न गर्नुपर्ने गरी ठेक्का पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिले फाल्गुन १२ सम्म  १५ प्रतिशत मात्रै काम सकेपनि कामले गति लिएको छैन ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोका साथै छिमेकी चीनसम्म जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्गको अवस्थाका कारण सवारी दुर्घटना भइ यात्रुहरु घाइते हुने र मृत्युको जोखिम समेत बढेको भन्दै यथासिघ्र निर्माण सम्पन्न गराउन भन्दै धुलिखेल ८ र पाँचखाल वडा नं ५ का जनताका प्रतिनिधीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको थियो ।

२०८० मंसिर २७ गते महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सहभागी हुन अरनिको राजमार्ग नै प्रयोग गरेर पाँचखाल आएका प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीलाई बोलाएर तत्काल सक्न निर्देशन दिने बताएपनि काम अघि नबढेपछि प्रमुख गौतम अनसन बसेका थिए ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं फर्किए लगत्तै निर्माण व्यवसायीलाई बोलाएर तत्काल बाटो बनाउने पहल गर्ने विश्वास दिलाएका थिए तर काम भने भएन । सरोकारवालासंगको छलफलमा पटक–पटक समयमा नै काम सकाउने प्रतिवद्धता जनाएपनि निर्माण व्यवसायीले कामलाई गति दिएको थिएन ।


प्रतिक्रिया दिनुहोस