जिल्लामा कृषि विकासका चूनौती : रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या

नौलो समाचार संवाददाता
२०८१ बैशाख १७, सोमबार मा प्रकाशित २२६ पटक पढिएको
जिल्लामा कृषि विकासका चूनौती : रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या

धुलिखेल /  जिल्लामा कृषि क्षेत्रको विकासको लागि रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या रहेको सरोकारवालाले बताएका छन् ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी जनप्रतिनिधी, कृषक र सरोकारवालाहरुले वितरणमुखी योजना, बजेट र दोहोरोपनाले समस्या पारिरहेको तर्क गरे ।

मध्यमार्ग कृषि सहकारी संस्थाका अध्यक्ष प्रदिप के.सी.ले कृषकलाई मलकै अभाव भएको तर्क गर्दै पशु तथा बाली विमा नहुँदा कृषकले क्षति बेहोरेको तर्क गरे ।

आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केदार सापकोटाले कृषकहरुले हाइव्रिड जातको मकै, धानको बीउ नै रुचाएको भन्दै भारतबाट आयात रोक्न नेपालमा पनि बीउ उत्पादन थाल्नुपर्ने बताए ।

पनौतीका कृषक रितकुमार सापकोटाले बाली संरक्षण गर्नुपर्ने भन्दै आइपीएम कृषक पाठशाला चलाउनुपर्ने तर्क गरे ।

मण्डनदेउपुर १० का ज्ञानमणि नेपालले त्यहाँ रहेका करिब एक हजार रुखकटहरका बोटमा समस्या भएको भन्दै प्राविधिकहरुलाई उपचारको लागि अभियान चलाउनुपर्ने बताए ।

चौरीदेउराली गाउँपालिका कृषि शाखाका कार्यरत उर्मिला रोका मगरले बजारिकरणको समस्या भएको भन्दै कृषि एम्बुलेन्सको आवस्यकता औल्याइन् ।

महभारत गाउँपालिकाको कृषि शाखामा कार्यरत खिमबहादुर डाँगीले १५ सय रोपनी क्षेत्रफलमा ९ सय कृषकले करिब १ लाख ५० हजार कफिका बोटमार्फत ७ लाख ५० हजार केजी कफि उत्पादन गरिरहेको जानकारी दिँदै कृषक भन्दा पनि बिचौलियाले फाइदा लिने अवस्था बनेको भन्दै चिन्ता व्यक्त गरे ।

मण्डनदेउपुर नगरपालिकाको कृषि शाखामा कार्यरत गोपाल नाथले संघीय शसर्त अनुदानका कारण बीउ खरिद गर्न समस्या भएको तर्क गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले वितरणमुखी बजेट नबाउन अनुरोध गर्दै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन स्थानीय तहलाई अनुरोध गरे । कृषि अनुदानको विरोध गर्दा बास्तविक कृषक समस्यामा पर्ने भन्दै उनले त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले कृषि नीति केन्द्र अनुसार भएपनि बजेट, कार्यक्रम, योजना स्थानीय आवस्यकता अनुसार हुनुपर्ने बताए । कृषि क्षेत्रमा बजेट अपर्याप्त भएको भन्दै उनले कृषि विकास कार्यालयले १ करोड व्यवस्थापन गरे धुलिखेले दोब्बर पारेर कृषि क्षेत्रमा काम गर्न तयार भएको बताए ।

नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाले जिल्लामा देखिने खालको कृषिको योजनामा लगानी गर्न जिल्लाका सबै स्थानीय तह तयार हुनुपर्ने बताए । उनले कृषि विकास कार्यालयलाई ज्ञान, सिप, प्रविधीका क्षेत्रमा काम गर्न अनुरोध गरे ।

जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङले बीउ आयात रोक्नुपर्ने भन्दै रसायनिक मलको विकल्प खोज्नुपर्ने बताए ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रमेबहादुर भुजेलले मलको अभाव झेल्न मल कारखाना खोल्नुपर्ने बताए । जिल्लामा कृषि सम्बन्धी ज्ञान, सिप, प्राविधिक संयोजनका साथै भण्डारण, अनुगमन लगायतका काम कृषि विकास कार्यालयले गर्नुपर्ने बताए ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले तीन तहका सरकारले कृषिमा दिने अनुदानमा दोहोरोपना भएको भन्दै उत्पादनको आधारमा अनुदान दिने गरेको बताइन् ।

पनौती नगरपालिका उप–प्रमुख गिता वञ्जारा नगरपालिका मासु, अण्डा, दूध, तरकारी उत्पादनमा आत्मनिर्भर भएको भन्दै विभिन्न पकेट क्षेत्र विकास गर्दै लगेको बताए ।

मण्डनदेउपुर नगरपालिका उप–प्रमुख विष्णुमणि नेपालले कृषि क्षेत्रमा एक पालिकामा एक नमुना कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क गरे ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खेतीयोग्य जमिन र कृषि उत्पादन बर्षेनी घट्दो क्रममा रहेको र उत्पादन समेत खान योग्य नभएको भन्दै चिन्ता प्रकट गरिन् ।

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले कृषि क्षेत्रमा काम गर्न जनशक्ति अभाव भएको भन्दै भूगोल विशेषमा केन्द्रित भएर योजना अब बनाउन अनुरोध गरे ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले मागमा आधारित योजना तर्जुमा गर्नको लागि छलफल चलाएको भन्दै समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार नै काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस