बालेन र सुधनविरुद्ध काभ्रेमा अनेरास्ववियुले दियो जाहेरी

नौलो समाचार संवाददाता
२०८२ आश्विन २३, बिहिबार मा प्रकाशित १९८ पटक पढिएको

बालेन र सुधनविरुद्ध काभ्रेमा अनेरास्ववियुले दियो जाहेरी

धुलिखेल / गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका सुधन गुरुङविरुद्ध काभ्रेमा पनि जाहेरी परेको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेका उपाध्यक्ष सुजन सापकोटा र आयुष बडालले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएका हुन् । उनीहरूले मुलुकी अपराध संहिता २०७४ को दफा १७७, दफा १७८, दफा २४४ र दफा २८५ (आपराधिक उपद्रव) अन्तर्गत दिइएको जाहेरीमा उनीहरूकै निर्देशनमा बनेपा नगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, नेकपा एमाले काभ्रेको कार्यालय, नेपाली कांग्रेस काभ्रेको कार्यालय काभ्रे, पनौतीका पुर्व नगर प्रमुख भीम न्यौपानेको घर, धुलिखेलका नगर प्रमुख अशोक व्यान्जुको घर, पनौतीकी उपप्रमुख गीता बन्जाराको घर, व्यवसायी रामेश्वर थापाको घर जलाइएको, कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंको घर र पनौती नगर प्रमुख रामशरण भण्डारीको घरमा तोडफोडका साथै केन्द्रीय सदस्य हुमागाईको गाडी जलाइएको उल्लेख छ ।

राष्ट्रिय सम्पदाहरु, भवन, संरचनाहरु तथा सरकारी कार्यालयका सामान तथा कागजातहरु तथा सरसामानहरु लुटपाट गरी चलअचल सम्पत्ती नष्ट गरेको र उक्त सम्पत्ति नष्ट गर्नुपर्छ भनी विभिन्न मानिसहरुलाई उक्साही कानून विपरित कार्य गरेको जाहेरीमा उल्लेख छ ।

बालेन्द्र साहले आफ्नो फेसबुकमार्फत सिंहदरबार आगो लगाईदिन्छु भनि देशकै प्रशासनिक केन्द्र प्रति नकारात्मक टिप्पणी गरी आगो लगाई ध्वस्त बनाउने आशयको स्टाटस लेखेको केही महिना पश्चात नै आन्दोलनको नाममा भएको आगजनीले हाम्रो देशको ऐतिहासिक भवन संरचनामा क्षति पुगेको र सो भवन नष्ट भई त्यहाँ भित्र रहेको चल अचल सम्पत्ति चोरी डकैती तथा नष्ट भएको जाहेरीमा उल्लेख गरिएको छ ।

यस्तै सिंहदरबारमा आगजनी पश्चात सुधनले ‘अब बालुवाटार’ भनि बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा आगो लगाउनुपर्छ भन्ने आशयका साथ सार्यों मान्छेहरुको भिडलाई बालुवाटारमा आगो लगाउन उक्साई आफू समेत सामेल भई प्रधानमन्त्री निवासमा आगो लगाउने कार्य गरी डकैती गरी अपराधिक उपद्रव समेत गरेको अवस्थामा उक्त विध्वंसात्मक अवस्थालाई नियन्त्रणमा लिने प्रयास गर्दै आफ्नो आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरुलाई भौतिक आक्रमण गरी, बर्दीमा नै हातपात गरी निजहरुको हत्या समेत गरेको, विद्यार्थीहरुको समेत हत्या भएको दाबी गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले भदौ २३ र २४ गतेको घटनाको छानबीनका लागि आयोग बनेको र जाहेरीलाई आयोगमै पठाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस