नेपाली काँग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा निर्णायक भूमिका खेलेको राजनीतिक दल हो। निरंकुशता विरुद्धको संघर्ष, बहुदलीय प्रजातन्त्रको स्थापना र संविधान निर्माणसम्म आइपुग्दा काँग्रेसको योगदान अस्वीकार गर्न सकिँदैन। तर आज यही पार्टी गम्भीर आन्तरिक समस्याको सामना गरिरहेको छ। ती समस्यामध्ये सबैभन्दा गम्भीर प्रश्न हो—नेपाली काँग्रेस आफ्नै वैचारिक धरातलबाट क्रमशः विचलित हुँदै जानु।
काँग्रेस लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्य बोकेर अघि बढेको दल हो। तर व्यवहारमा ती मूल्यहरू नारा र दस्तावेजमा सीमित हुँदै गएका छन्। पछिल्ला दिनहरुमा पार्टीभित्र विचार र सिद्धान्तभन्दा व्यक्ति, गुट र शक्ति सन्तुलन निर्णायक बन्दै गएको देखिन्छ। नीति र कार्यक्रमभन्दा ‘को कसको पक्षमा’ भन्ने आधारमा निर्णय हुने अवस्थाले पार्टीको राजनीतिक चरित्रलाई कमजोर बनाएको छ। वैचारिक बहसको अभाव काँग्रेसको प्रमुख समस्या हो। महाधिवेशन, केन्द्रीय समिति वा अन्य बैठकहरूमा समसामयिक राजनीतिक मुद्दामाथि गहिरो छलफल हुनुपर्नेमा नेतृत्वको आलोचना वा समर्थनमै बहस सीमित हुने गरेको छ। यसले कार्यकर्तालाई वैचारिक रूपमा परिपक्व बनाउनुको सट्टा गुटगत अनुयायी बनाइरहेको छ, जुन दीर्घकालीन रूपमा घातक छ।
सांगठनिक अनुशासनको अवस्था पनि चिन्ताजनक छ। पार्टीको आधिकारिक निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिने र जिम्मेवारीभन्दा बाहिर गएर गतिविधि गर्ने प्रवृत्ति बढ्दो छ। यस्ता कार्यप्रति नेतृत्वको उदासीनताले अराजनीतिक संस्कारलाई संस्थागत गरिरहेको देखिन्छ। सत्तामुखी राजनीति अर्को गम्भीर कारण हो। आन्दोलन, संगठन विस्तार र जनसम्पर्कभन्दा सत्ता प्राप्ति नै केन्द्रमा रहँदा पार्टीको वैचारिक पहिचान ओझेलमा परेको छ। मन्त्री बन्ने होड, नियुक्तिमा पहुँच र व्यक्तिगत लाभको राजनीतिले पार्टीप्रति जनविश्वास घटाउँदै लगेको यथार्थ नकार्न सकिँदैन।
युवा पुस्ताको भूमिकालाई कमजोर बनाइनु पनि विचार विचलनको संकेत हो। ऊर्जा, क्षमता र नयाँ सोच भएका युवाहरू अवसरबाट वञ्चित हुँदा पार्टीभित्र निराशा बढेको छ। पुस्तान्तरणलाई व्यवहारमा उतार्न नसक्दा नेपाली काँग्रेस भविष्यको नेतृत्व निर्माणमा चुक्ने जोखिमतर्फ अघि बढिरहेको छ।
अब नेपाली काँग्रेसले आत्मसमीक्षा गर्नैपर्छ। विचारप्रधान राजनीति पुनर्जीवित गर्नु, आन्तरिक लोकतन्त्रलाई व्यवहारमा लागू गर्नु, अनुशासन कडाइका साथ पालन गराउनु र योग्य युवालाई नेतृत्वमा अघि बढाउनु आजको अनिवार्य आवश्यकता हो।
सामाजिक सञ्जालबाट स्पष्ट देखिन्छ एक पक्षले अर्को पक्षलाई बहिस्कार गरिरहेका छन् । नेताको चाकडी गरेको भरमा नेतृत्व हत्याउन सफल हुँदा आफूलाई महान सम्झने परम्पराको विकास भएको छ । गुटगत प्रवृत्ती हावी हुँदै गइरहको छ । एक पक्षले अर्को पक्षलाई स्वीकार्ने अवस्था छैन । पार्टीका नेतालाई सत्रुतापूर्ण व्यवहार गर्ने प्रचलनले पार्टी ठूलो संकटमा परेको सहजै अनुमान गर्न सकिन्छ । अरु सबै पार्टीहरु एकत्रित हुँदा काँग्रेसीहरु एक अर्कालाई गाली गलौज गर्नै ब्यस्त देखिन्छन् । विशेष कि नियमित महाधिबेसन भन्ने कलहले पार्टी बिग्रहको अवस्थामा छ । निर्वाचन आउन केबल ५६ दिन बाँकी रहेको अवस्थामा समेत आन्तरिक कलह व्यवस्थापन नहुनु पक्कै पनि काँग्रेसीजनहरुको लागि दुखदायी कुरा हो भने नेपालको इतिहास कहिले पनि नभएको दुर्घटनाको समेत संकेत गरिरहेको छ । विशेष महाधिबेसन पक्ष र इतर पक्षले महाधिबेसन गराउने र नगराउने कुरालाई आ आफ्नो प्रतिष्ठा बनाएको पाइन्छ । अरु दलहरुको समेत मार्गदर्शक हुने बिगतको काँग्रेसको इतिहासलाई यसपटक पछ्याउन सकिरहेको छैन । चुस्त निर्णयका लागि गठित कार्यसम्पादन समितिको बैठक नै श्रृंखलाबद्ध रुपमा अघि बढ्दा ठीक समयमा ठीक निर्णय हुन नसक्नु काँग्रेस भित्रको चरम संकट हो भन्न सजिलै सकिन्छ ।
नेपाली काँग्रेसको वास्तविक शक्ति यसको इतिहासमा मात्र होइन, यसको विचार र राजनीतिक संस्कारमा निहित छ। यदि विचारबाट विचलित हुने क्रमलाई समयमै रोकिने प्रयास गरिएन भने यसले दल मात्र होइन, समग्र लोकतान्त्रिक प्रणालीलाई समेत कमजोर बनाउनेछ। त्यसैले काँग्रेसले अब गुट र पदको राजनीति होइन, विचार र मूल्यको राजनीतितर्फ फर्किनैपर्छ।
प्रतिक्रिया दिनुहोस