खोपासी–तालढुंगा सडकलाई ३० करोड बिनियोजन गर्न यस्तो छ गुणराजको भूमिका

नौलो समाचार संवाददाता
२०८२ माघ २०, मंगलबार मा प्रकाशित ३४७ पटक पढिएको

खोपासी–तालढुंगा सडकलाई ३० करोड बिनियोजन गर्न यस्तो छ गुणराजको भूमिका

बनेपा / निर्माण शुरु भएको २८ बर्ष सम्म पनि पुरा नभएको खोपासी–तालढुंगा सडक निर्माणको लागि यो बर्ष ३० करोड बजेट बिनियोजन भएको छ । बाग्मती प्रदेशका पूर्वमन्त्री एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाको पहलमा बिनियोजन भएको योजनाको लागि बाग्मती प्रदेशको नीति तथा योजना आयोगको सदस्य भएर काम गरेका नेपाली कांग्रेसका सचिव गुणराज मुक्तानले विशेष भूमिका खेलेका छन् ।

स्थानीय विकास, शासकीय पद्दतिमा तल्लो तहदेखि राष्ट्रियस्तरसम्म योजना र नीतिमा विज्ञता हासिल गरेका मुक्तान बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य भएर व्यवस्थित योजना निर्माण र काभ्रे जिल्लामा बजेट विनियोजनमा योगदान गरेका छन् । ती मुक्तान नै आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं १ मा उम्मेदवार छन् ।

संघ र प्रदेश सरकारको समुपरक अनुदानमा सो योजना समावेश गर्नको लागि मुक्तानले विशेष भुमिका खेलेका छन् । ‘समपुरक योजनाको लागि राष्ट्रिय योजना आयोगले सूचना निकाल्छ, प्रदेशका मन्त्रालयले विभिन्न योजनाहरु सिफारिस गरेका हुन्छन्,’ प्रदेशको नीति तथा योजना आयोगका एक विज्ञ सल्लाहकारले भने, ‘आयोगले ती योजनाको वर्गिकरणका साथै प्राथमिकताक्रम निर्धारण गर्छ, गुणराजजीले प्राथमिकता निर्धारण देखि सबै कुरामा भूमिका खेलेर सिफारिस गरेपछि बाग्मती प्रदेश सरकारले समपुरकको लागि निर्णय गरेको हो ।’ उनका अनुसार, प्रदेश सभा सदस्य, मन्त्री र मन्त्रालयले सिफारिस गरेका सबै योजना प्राथकिमतामा पर्दैनन् । योजना आयोगका सदस्यका रुपमा गुणराजले खेलेको भूमिकाका आधारमा खोपासी–तालढुंगा सडकलाई ३० करोड बिनियोजन भएको हो ।

डाँडापारी क्षेत्रमा यातायात सेवा विस्तार गर्ने उद्धेश्यले सञ्चालन गरिएको खोपासी–तालढुंगा सडकमा निमार्ण शुरु भएको २८ बर्ष पनि नियमित बस सेवा सञ्चालन गर्न योग्य भइसकेको छैन । करिब ४० करोड रकम खर्च भइसक्दा पनि खोपासीदेखि तालढुंगा जोड्ने ६४ किलोमिटर सडक अझै पुरा हुन नसकेको होे ।

एसियाली विकास बैंकको ऋण सहयोगमा २०५४ सालबाट सञ्चालित ग्रामीण पूर्वाधार विकास कार्यक्रमले २०६४ सालसम्ममा २२ किलोमिटर सडक बनाएपछि तत्कालिन जिल्ला विकास समितिलाई हस्तान्तरण गरिएको थियो । कोत्रे भिरको पहरा फुटाउन कठिन भएकोले सडक दुतर्फी हुन सकेको थिएन । कोत्रे भिरबाट बैकल्पिक व्यवस्थापन गरेर सडक सञ्चालन गरिए पनि नियमित हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस