बेथानचोक / शुक्रबारबाट बेथानचोक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । बेथानचोक गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।
प्रतियोगिताले गाउँपालिका क्षेत्रका विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह र अनुशासन विकास गर्ने अपेक्षा गरिएको गाउँपालिकाका युवा तथा खेलकुद शाखाका संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाभरका ९ माध्यमिक विद्यालयहरूका विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । छात्र तथा छात्रा दुवै समूहमा एथलेटिक्स, भलिबललगायतका विधाहरूमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले खेलकुदलाई शिक्षा र स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताउँदै यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले खेलकुदलाई सामाजिक सद्भाव र एकताको माध्यम बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा वडाअध्यक्षहरु मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, राजकुमार वाइबा, विष्णु तामाङका साथै गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा सदस्यहरु, सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, रेफ्री एवं विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस