नेपालमा कोरोना पछिल्लो अपडेट : १ हजार ८ सय ९० को परीक्षण, थपिएनन् संक्रमित

नौलो समाचार संवाददाता
२०७६ चैत्र २५, मंगलबार मा प्रकाशित ५७७ पटक पढिएको

नेपालमा कोरोना पछिल्लो अपडेट : १ हजार ८ सय ९० को परीक्षण, थपिएनन् संक्रमित

चैत्र  २५, काठमाडौं । उपचारमा रहेका ८ जनाबाहेक मंगलवारसम्म कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

आज (मंगलवार) नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नयाँ संक्रमित बिरामी फेला नपरेको जानकारी दिएका हुन्। अहिलेसम्म १ हजार ८ सय ९० जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। एकदिनमा १ सय ९३ जनाको परीक्षण गरिएको हो।

संक्रमण फैलिने सम्भावना भएपछि सरकारले कैलाली, कंचनपुरमा र्‍यापिड टेष्ट गरिरहेको छ। एक दिनमा कैलालीमा १८ जना र कंचनपुरमा २१ जनाको परीक्षण गरिएको छ। त्यस्तै, हुम्ला र अछाममा पनि स्वाब संकलन कार्य भइरहेको छ। क्वारेन्टाइनमा रहेका ४ सय ५० जनाको स्वाब परीक्षणको लक्ष्य राखेर काम भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र १६ जना र उपत्यकाबाहिर ८४ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ९ हजार २ सय २८ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।

उनका अनुसार १ हजार ८ सय ५१ जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा परेका छन्। अहिलेसम्म १ सय ७२ जना रेड जोनमा छन्। उनीहरुसँग मन्त्रालयले फोन मार्फत् कोरोना संक्रमणबारे जानकारी लिइरहेको छ।

अहिलेसम्म नेपालमा ९ जना कोरोना संक्रमित बिरामी देखिएका छन्। जसमा एक जना उपचारपछि फर्किएका छन् भने बाँकी ८ जनाको उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस