चैत १ गतेपछि विदेशबाट फर्किएका २५ जना सम्पर्कविहिन, लुकेर बस्नेलाई कारबाही गर्ने चेतावनी

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित १०३९ पटक पढिएको
चैत १ गतेपछि विदेशबाट फर्किएका २५ जना सम्पर्कविहिन, लुकेर बस्नेलाई कारबाही गर्ने चेतावनी

चैत्र २६, काठमाडौं । सरकारले चैत १ गतेपछि विदेशबाट नेपाल फर्किएका सबैलाई सम्पर्कमा आउन आग्रह गरेको छ। त्यतिमात्र होइन, सम्पर्कमा नआई लुकेर बस्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ। तर, सरकारको चेतावनीलाई समेत विदेशबाट आएका धेरैले टेरेका छैनन्।

विदेशबाट आएका अरु यात्रुको त कुरा परै छौडौं कोरोना भाइरस संक्रमित बिरामी चढेर आएको विमानका सबै यात्रु सम्पर्कमा आएका छैनन्। प्रहरीले सबै जिल्लामा सूचना जारी गरेर खोज्दा पनि सबैलाई फेला पार्न सकेको छैन।

फ्रान्सबाट दोहा हुँदै चैत ४ गते नेपाल आएकी किशोरी चढेको विमानमा १ सय ५८ जना यात्रु आएको देखिएको छ। अहिलेसम्म विमानमा भएका १ सय ५८ जनामध्ये १ सय ५२ जना मात्र सम्पर्कमा आएका छन्। तीन जना विदेशी भएकाले उनीहरु विदेश फर्किसकेको प्रहरीको अनुमान छ। त्यस्तै प्रहरी रेकर्डमा आएका तीन जना दुई साताभन्दा बढी समय लगाएर खोज्दा पनि भेटिएका छैनन्।

‘हामीले सबै सूचना लिएर खोजी रहेका छौं। तर, सम्पर्कमा आउनु भएको छैन। हाम्रो अनुरोध छ सम्पर्कमा आउनु होला,’ नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले भने।

४५ जिल्लाका मानिसहरु सो विमानबाट काठमाडौं ओर्लिएका थिए।

त्यस्तै, चैत ६ गते नेपाल आएको एयर अरेवियाबाट एक यात्रुमा पनि कोरोनाको संक्रमण देखियो। विमानमा १ सय ७० जना यात्रु रहेको प्रहरीले जानकारी दिएको छ। तर, एकजना यात्रुले टिकट क्यान्सिल गरेको खुल्यो। एकजना नआएपछि विमानमा रहेका १ सय ६९ जनामध्ये २ जना कहाँ छन् अझै खोजी जारी छ। अन्य भने प्रहरी सम्पर्कमा आइसकेका छन्।

दुवईबाट भारत हुँदै एयर भिस्तराको बाट चैत ७ गते नेपाल आएका एक जना पनि संक्रमित थिए। उनीसँगै विमानमा १ सय ३० जना यात्रु थिए। अहिलेसम्म त्यस विमानका ८८ जनामात्र सम्पर्कमा आएका छन्। विमानमा २२ जना भारतीय नागरिक थिए। उनीहरु नेपालबाट भारत फर्किसकेको प्रहरीको अनुमान छ। बाँकी रहेका अन्य नेपालीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

नेपाल आएकाको ट्र्याकिङ गरिएको भनिए पनि कहिलेदेखि ट्र्याकिङ थालिएको चाहिँ बताइएको छैन। किनकि पहिलो केस आउँदा ट्र्याकिङ गर्ने विषय अहिलेजस्तो बहसमा पनि थिएन, सरकारको चासोमा पनि परेको थिएन।

विदेशबाट आएका नेपाली यात्रु मध्ये अब प्रहरीले २५ जनालाई खोज्न बाँकी रहेको छ।

‘धेरैलाई हामी आफैले खोजेका हौं। आफैं सम्पर्कमा आउनेको सङ्ख्या कम नै छ,’ एसएसपी जोशीले भने।

त्यस्तै संक्रमित बिरामीले काठमाडौंबाट नेपालगञ्ज र पोखरा पुग्न प्रयोग भएका विमानका यात्रु पनि खोजी गरिरहेको छ। विदेशीबाहेक २५ जना नेपाली यात्रु अझै सम्पर्कबाहिर नै छन्।

प्रतिक्रिया दिनुहोस