सनसिटीमा बस्ने करिब २ हजार जनाकै कोरोना भाइरस परीक्षण सुरु

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित ७४१ पटक पढिएको
सनसिटीमा बस्ने करिब २ हजार जनाकै कोरोना भाइरस परीक्षण सुरु

बैशाख २, काठमाडौँ । पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट चार साताअघि आएका एकै परिवारका तीन जनामध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा बस्ने ५ सय परिवारका करिब २ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिने भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीया छोरामा संक्रमण पुष्टि भएको हो। यी आमाछोरा र बुहारी चैत ५ गते लण्डनबाट नेपाल फर्केका थिए। वैशाख १ गते र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा यी तीनजनामा कोरोना भाइरस संक्रमण देखिएपछि पीसीआर विधिद्वारा थप परीक्षण गरी पुष्टि गरिएको हो।

बुहारीको परीक्षण भइरहेको र केहीबेरमा थाहा हुने जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।

अहिले उक्त अपार्मेन्ट सिल गरिएको छ भने सबैको परीक्षण सोमबारदेखि नै सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। उनीहरुसँग संलग्नहरुको ट्रेसिङ गर्ने काम पनि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

विदेशबाट आएका मानिसलाई र्‍यापिड टेस्ट गर्ने क्रममा अपार्टमेन्टको १५ औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारी गरी तीनजनामा प्रारम्भिक चरणमा कोरोना संक्रमण देखिएको थियो। उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस