‘डिसइन्फेक्सन स्प्रे’ मानिसको शरीरमा छर्किने काम बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन, स्प्रेले कोरोनाबाट जोगाउँदैन, छाला र श्वासप्रश्‍वासको संक्रमण गराउँछ : चिकित्सक

नौलो समाचार संवाददाता
२०७७ बैशाख २३, मंगलबार मा प्रकाशित ५९२ पटक पढिएको

‘डिसइन्फेक्सन स्प्रे’ मानिसको शरीरमा छर्किने काम बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन, स्प्रेले कोरोनाबाट जोगाउँदैन, छाला र श्वासप्रश्‍वासको संक्रमण गराउँछ : चिकित्सक

बैशाख २३, काठमाडौं । नेपालका विभिन्‍न स्थानमा कोरोना भाइरसको संक्रमण कम गर्न ‘डिसइन्फेक्सन स्प्रे’ गरिहेको देखिन्छ । विभिन्‍न स्थानमा सवारीमा तथा हिँडिरहेका मानिसहरुको अनुहारमा पर्ने गरी यस्तो ‘डिस्‍इन्फेक्सन स्प्रे’ गरिँदै आएको छ । आइतबार मात्रै पनि काठमाडौंको ओमबहालमा सडकमा हिडिरहेका मानिसहरुको अनुहारमा पर्ने गरी यस्तो स्प्रे गरिएको थियो ।

तर, चिकित्सकहरुले भने यस्ता स्प्रेले मानव शरीरमा परेमा विभिन्‍न समस्या हुने चेतावनी दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवम संक्रमण रोग विशेषज्ञ डा. बासुदेव पाण्डेले यसरी ‘डिसइन्फेक्सन स्प्रे’ मानिसको शरिरमा परेमा विभिन्‍न स्वास्थ्य समस्या देखिने बताए ।

“यस्ता केमिकल मानिसको शरिरमा परेमा चिलाउँने, पोल्ने, फोका आउँने समस्या देखिन्छ”, उनले भने, “यस्ता केमिकलले कोरोनाबाट बचाउँदैन्  बरु थप समस्या निम्त्याउँछ ।”

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बस्तोलाले ‘डिसइन्फेक्सन स्प्रे’ गर्दा प्रयोग भएको क्लोरिनले श्‍वासप्रश्‍वासको समस्या देखिने उनले जानकारी दिए ।

उनले भने, “बालबालिकाहरुमा यस्तो केमिकल प्रयोग भएमा विभिन्‍न फोक्सोसम्बन्धी रोगहरु लाग्‍ने हुन्छ ।” डिसइन्फेक्सनले भाइरस नमार्ने बरू स्वास्थ्यमा समस्या ल्याउने भन्दै यो कार्य तत्काल बन्द गनुपर्ने उनले बताए ।

छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णले डिसईन्फेक्सन स्प्रे मानब शरिरका लागि छर्ने नै होईन् । यो अस्पताल, सर्जिकल रुमहरुमा किटाणु वा भाइरस मुक्त बनाउँन  प्रयोग गरिने केमिकल रहेको जानकारी दिए ।

“छाला सुख्खा हुने, घाउ आँखामा परेमा आँखा पोल्ने, पाक्ने, रातो हुने, नाक पोल्ने, घाँटी दुख्‍ने आदि यसको असर १-२ दिनमा शरीरमा देखिनसक्छ । धेरै दिनसम्म रहेमा खोकी लाग्‍ने, दम बढ्ने हुन्छ”, उनले भने, “डिसइन्फेक्सन स्प्रे  गर्दागर्दैमा  कोरोनाबाट बचिन्छ भन्‍नु भ्रम मात्र हो ।”

कोरोना भाइरसको संक्रमण देखिएको सुरुको समयमा विभिन्‍न देशहरुले यस्तो स्प्रे गरेका थिए । तर पछि विभिन्‍न अध्ययनले त्यो स्प्रेले मानव शरीरलाई हानी गर्ने देखिएपछि रोकिएको उनले जानकारी दिए ।

भारतको लखनऊमासमेत विभिन्‍न राज्यबाट आएकाहरुलाई लाइन लगाएर यसरी डिस्इन्फेक्सन स्प्रे गरेको भन्दै स्प्रे गर्ने र निर्देशन दिनेलाई कारबाही गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले डिसइन्फेक्सन स्प्रे औषधी छर्केको देखिन्छ । यस्तो केमिकलले कोरोना भाइरस नमार्ने जानकारी दिए ।

यस्ता किटनाशक पदार्थ छर्किने गर्दा आँखा र नाकमा परेमा दम, श्वासप्रश्वासलगायतका विभिन्न समस्या देखिने उनले जानकारी दिए । यस्ता केमिकलले भुइँ र गाडीलगायत सफा गर्न प्रयोग गरिन्छ । कोरोना  भाइरसबाट बच्‍न साबुन पानीले हात धुने , दूरी कायम गर्ने , खोक्दा वा हाँछ्यु गर्दा नाक मुख छोपेर गर्न उनले सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस