लकडाउन थप्ने सरकारकाे तयारी, खुकुलो पार्ने अवस्था छैन

नौलो समाचार संवाददाता
२०७७ बैशाख २४, बुधबार मा प्रकाशित ४८७ पटक पढिएको
लकडाउन थप्ने सरकारकाे तयारी, खुकुलो पार्ने अवस्था छैन

बैशाख २४, काठमाडौँ । कोभिड–१९ को उच्च जोखिम नघटेपछि सरकारले यथास्थितिमै लकडाउन थप्ने भएको छ । लकडाउनको डेढ महिना अवधि बित्दा संक्रमितको संख्या झनै बढ्न थालेपछि लकडाउन खुकुलो बनाउन नहुने निष्कर्षमा सरकार पुगेको हो । यसबारेे अाज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाउने निर्णय गर्नेछ ।

चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित रहेकामा अहिले ८२ जना पुगिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित हिजाे (मंगलबार) बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन खुकुलो पार्दा झन् जोखिम हुन सक्ने निष्कर्ष निकाल्दै अहिलेकै मोडालिटीमा लकडाउन लम्ब्याउने निर्णय गरेको समिति सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार संक्रमितको संख्या बढ्ने दर, परीक्षणको दायरा र सीमाका जिल्लाको जोखिमका कारण अहिले नै लकडाउन खुकुलो पार्न नहुने प्रतिवेदन ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र स्वास्थ्य मन्त्रालयबाट पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री ओली स्वयंले लकडाउन खुकुलो पार्ने अवस्था नरहेको बताएका थिए । ‘भारतमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ, हाम्रोमा पनि जोखिम घटेको छैन । त्यसैले अहिले लकडाउन खुकुलो पारेर जान सकिँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकले मुलुक अझै पनि कोरोनाको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । यही निष्कर्षलाई आधार मानेर अाज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाउने निर्णय गर्नेछ । ‘मंगलबार कति समय लकडाउन लम्ब्याउने भन्नेबारे कुराकानी नभए पनि यही मोडालिटीमा थप्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ,’ ज्ञवालीले भने । यसअघि कार्यदल बैठकले कम्तीमा १ साता र बढीमा १४ दिन लकडाउन थप्न सकिने प्रस्ताव तयार पारेको थियो ।

‘हामी अझै पनि उच्च जोखिममा छौं भन्ने निष्कर्ष छ । स्थिति होलो–खुकुलो गर्ने अवस्था आइसकेको छैन । होलो–खुकुलो गर्न उच्च र कम जोखिम भनेर छुट्याउनका लागि वस्तुगत आधार के हुन् भनेर कुरा आएको छ,’ उनले भने, ‘त्यही आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

बैठकमा स्वास्थ्य मन्त्रालयको विज्ञ समूहले परीक्षणको दायरा एउटा ‘लेभल’ मा नपुग्दासम्म त्यो क्षेत्र साँच्चिकै न्यून जोखिमको हो भनेर आकलन गर्न कठिन हुने बताएका थिए । विज्ञहरूको सुझावअनुसार अहिले नै हरियो, पहेंलो र रातो क्षेत्र भनेर वर्गीकरण गर्न कठिन हुने भन्दै ‘हचुवा’ मा वर्गीकरण गर्दा त्यसले झन् समस्या निम्त्याउने भएकाले तत्कालका लागि यही शैलीको लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्षमा सरकार पुगेको हो ।

प्रतिक्रिया दिनुहोस