लकडाउन जेठ अन्तिमसम्मै लम्ब्याउने सरकारको तयारी

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ६६४ पटक पढिएको
लकडाउन जेठ अन्तिमसम्मै लम्ब्याउने सरकारको तयारी

जेठ ४, काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे बहस भइरहेको थियो ।

तर, शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना सङ्क्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि भाेेेलि (सोमबार) सकिँदैछ ।

“लकडाउनको अहिलेकै मोडललाई यथावत राख्ने कि, आर्थिक क्रियाकलाप गर्न दिइने भनेर बहस भइरहेको थियो । तर, कोरोना सङ्क्रमणका केस बढ्न थालेपछि लकडाउन यथावत राख्नुको विकल्प छैन,” उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले भने ।

यद्यपि यसबारे साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ ।

“आज दिउँसो साढे दुई बजे समन्वय समितिको बैठक बस्दै छ । त्यहाँ लकडाउनका विषय छलफल हुनेछ । प्राप्त सुझावहरूका आधारमा मन्त्रिपरिषद्ब बैठकले निर्णय लिनेछ,” मन्त्रीको भनाइ छ ।

शुक्रबार उच्चस्तरीय समितिले जनस्वास्थ्य विज्ञहरूसँग पनि परामर्श गरेको थियो ।  विज्ञहरूले परीक्षणको दायरा फराकिलो पार्न र स्वास्थ्यकर्मीलाई सिफ्टमा काम लगाउन सुझाव दिएको थियो । जनस्वास्थकर्मीहरूले लकडाउनलाई यथावत् राख्न र सीमामा अझै कडाइ गर्न सल्लाह दिएका थिए ।

“पछिल्लो अवस्थालाई विश्लेषण गर्दा लकडाउनलाई थप कडाइ गर्नुपर्ने देखिएको छ,” मन्त्रीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस