बाँकेमा निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पुष्टि, मृतकको संख्या २ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ४१९ पटक पढिएको
बाँकेमा निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पुष्टि, मृतकको संख्या २ पुग्यो

जेेठ ४, बाँके । बाँके नरैनापुरका अाज बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण निधन भएको थियो।

वैशाख ३० गते भारतबाट आएका २५ वर्षका युवा नरैनापुरको दिपेन्द्र मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए।

बिहान ६ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो। राति ३ बजे एक्कासी वान्ता हुनुका साथै ज्वरो बढेपछि उनको मृत्यु भएको थियो।

मृतकको शव अहिले पनि स्कुलमै छ। शवको नजिक कोही गएका छैनन्। आफन्तहरु टाढाबाट शवलाई हेरेर बसेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले शनिबार नरैनापुरबाट २ सय ६३ जनाको स्वाब लिँदा ती युवाको पनि लिइएको थियो। अरु स्याम्पलको जाँच भइरहेको छ।

भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले मृतकमा कोरोना देखिएको बताए।

‘नरैनापुरबाट २ सय ६३ स्वाब आएका थिए। अरुको परीक्षण हुँदैछ। मृतकको चाँडै रिपोर्ट सार्वजनिक गर्नु पर्ने भएकोले परीक्षण गर्‍यौँ,’ मेसु डा. थापाले भने, ‘मृतकमा कोरोना पोजिटिभ देखिएको छ।’

नरैनापुरमा यसअघि आठ जनामा कोरोना पोजिटिभ देखिएको थियो।

उनीहरुको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब लिँदा मृतक युवा पनि परेका थिए।

जिल्लाको पूर्वी गाउँपालिकामा पर्ने नरैनापुरमा अझै भारतबाट आउने क्रम रोकिएको छैन। त्यहाँ ११ वटा क्वारेन्टाइन बनाएर ६ सय २५ जनालाई राखिएको छ।

प्रतिक्रिया दिनुहोस