नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १९, सोमबार मा प्रकाशित ३६२ पटक पढिएको
नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो

जेठ १९,  काठमाडौं । नेपालमा अाज (सोमबार) थप २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै ५९ जिल्लाका एक हजार ८११ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तु, दैलेख र सर्लाहीमा बढी संक्रमित भेटिएको जानकारी दिए ।

दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, रौतहटमा १८, कैलालीमा १४, जुम्लामा १९, दाङमा ९, बाँकेका ७, सल्यानमा १०, सुर्खेतमा र सिरहामा ५/५ जना, धनुषामा ७, नवलपरासीमा ३, झापा र महोत्तरीमा २/२ जना, मकवानपुर, अछाम, बैतडी, कञ्चनपुर र डोटीमा एक/एकजना र उदयपुर घर भएका तर हाल जनकपुर बस्ने एकजनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्राप्त पछिल्लो विवरणअनुसार पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले संक्रमितको संख्या बढेसँगै ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’को व्यवस्था बढाउनुपर्ने जनाएको छ ।

प्रवक्ता डा. देवकोटाले क्वारेन्टाइनको सम्पूर्ण व्यवस्था प्रदेश सरकारको सहयोगमा स्थानीय तहले सञ्चालन गराउनुपर्ने र मापदन्ड पुगे/नपुगेकोबारे अनुगमन गर्न पनि आग्रह गरे ।

क्वारेन्टाइन मापदण्ड पूरा नगरेको भन्ने गुनासो आएको भन्दै उनले कुन–कुन कुरा पुगेको छैन, त्यसबारे मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे ।

यस्तै, अब अस्पतालमा बिरामी र संक्रमितहरुलाई छानेरमात्र राखिने रणनीति अपनाउने तयारी भएको डा. देवकोटाले जानकारी दिए ।

हालसम्म देशभर ७१ हजार ९०३ जनाको ‘पीसीआर’ परीक्षण भएको छ भने एक लाख १३ हजार ७५७ जनाको ‘आरडीटी’ परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस