अन्तिम समयमा युएईबाट आउने नेपाली रोकिए, सित्तैमा ल्याउन नसकिने युएईको अडान

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ४२६ पटक पढिएको
अन्तिम समयमा युएईबाट आउने नेपाली रोकिए, सित्तैमा ल्याउन नसकिने युएईको अडान

जेठ २३, काठमाडौं । यसअघि आफ्नै खर्चमा नेपाली नागरिकलाई स्वदेश फर्काउन तयार भएको युएईले अन्तिम समयमा सित्तैमा नेपाली ल्याउन नसक्ने बताएपछि आज (शुक्रबार) युएईबाट आउने भनिएका नेपाली रोकिएका छन्।

आज युएईबाट नेपाली नागरिक ल्याउने तय भएको थियो। तर अन्तिम समयमा आएर युएईले सित्तैमा नेपाली नागरिक ल्याउन नसकिने जनाएपछि अन्तिम समयमा नेपाली ल्याउने काम रोएिको हो।

युएईले सित्तैमा नेपाली ल्याउन नसकिने जनाएपछि सोही विषयमा छलफल गर्न अहिले कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ।

यसअघि सरकारले सम्बन्धि देशलाई पत्राचार गर्दै सम्बन्धित देशकै खर्चमा नेपाली नागरिकलाई नेपाल ल्याउन र स्वदेश फर्किनु अघि कोरोना परीक्षण गरिदिन आग्रह गर्दैै पत्राचार गरेको थियो। युएईले एअर अरेबियाको जहाजमार्फत उसकै खर्चमा नेपाली ल्याउने तय भएको थियो। तर अन्तिम समयमा नेपाल सरकारले पैसा तिरेको अवस्थमा मात्र ल्याउन सक्ने जवाफ दिएको स्रोतले जनाएको छ।

यसैबीच सरकारले मलेशिया तथा खाडी मुलुकबाट ३९ हजार ४ सय ३३ जना स्वदेश फर्किने अनुमान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको विवरण अनुसार पहिलो मलेशिया, खाडीलगायतक मुलुकबाट कुल ३९ हजार ४ सय ३३ नागरिक फर्किने अनुमान गरिएको छ।

मन्त्रालयको विवरण अनुसार युएईबाट १७ हजार ३ सय ७४ जना स्वदेश फर्किने छन्। यसैगरी कतारबाट ७ हजार १ सय ६७, मलेशियाबाट ६ हजार दुई सय, साउदी अरबबाट ६ हजार ५ सय ४७, बहराइनबाट २ सय ८५ र ओमानबाट ६ सय ५६ जना स्वदेश फर्किने अनुमान गरिएको मन्त्रालयले स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस