भाेलीदेखी मोटरसाइकलमा पनि जोर–बिजोर लागू

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ६९२ पटक पढिएको

भाेलीदेखी मोटरसाइकलमा पनि जोर–बिजोर लागू

जेठ ३२, काठमाडौं । असार १ गते अर्थात सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको रातोपाटीलाई जानकारी दिए ।

यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबारदेखि मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू गर्न गृहमन्त्रालयबाट निर्देशन आएको बताए । यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन । जसका कारण सर्वसाधारणमा अलमल रहेको थियो । यस्तै कार्यान्वयन गर्ने निकाय पनि अलमलमा रहेको थियो ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै  निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो । यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइने जानकारी सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउनेछन् ।

गृहको सर्कुलरअनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ ।  यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।


प्रतिक्रिया दिनुहोस