निजी विद्यालयले अभिभावकसंग लकडाउन अवधिको शुल्क मागे

चैतको शुल्क नलिन सरकारले दिएको निर्देशनको अवज्ञा
नौलो समाचार संवाददाता
२०७७ अषाढ ७, आईतबार मा प्रकाशित ७१३ पटक पढिएको

निजी विद्यालयले अभिभावकसंग लकडाउन अवधिको शुल्क मागे

असार ७, काठमाडौं । निजी विद्यालयको छाता सङ्गठन प्याब्सन र एनप्याब्सनले लकडाउनक अवधिको शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।

यसअघि सरकारले चैत महिनाको शुल्क नलिन निर्देशन दिइसकेको छ । वैशाख महिनाबाट नयाँ शैक्षिक सत्र आरम्भ गर्नुपर्नेमा लकडाउनले प्रभावित तुल्याएपछि सरकारले असार १ गतेदेखि भर्चुअल र दूर शिक्षा प्रणालीबाट सिकाइलाई निरन्तरता दिन भनिसकेको छ । तर, निजी विद्यालयको छाता संगठनले सरकारको निर्देशनलाई अटेर गर्दै २०७६ सालको बाँकी बक्यौतासहित लकडाउन अवधिको शुल्क पनि बुझाउन आग्रह गरेका छन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले आइतबार विज्ञप्ति प्रकाशित गरेर शुल्क बुझाउन भनेका हुन् ।

उनीहरूले सरकारले हालसम्म कुनै पनि प्रकारको सहयोग नगरेकाले बाध्य भएर शुल्क उठाउनुपरेको दाबी गरेका छन् । र, ‘बाँँचौं र बचाऔं’को भावनालाई आत्मसात गर्दै शुल्क तिर्न अभिभावकसमक्ष अपिल पनि गरेका छन् ।

लकडाउनको कारणले हाम्रा विद्यालयहरू लगातार बन्द रहँदा विद्यालयको आम्दानी शुन्य भएको, विद्यालयहरूमा आश्रित दुई लाख भन्दा बढी शिक्षक, कर्मचारी तथा तिनका परिवारजनको जीवनयापन कठिन भएको पनि उनीहरूले चित्रित गरेका छन् । उनीहरूले सरकारप्रति असन्तुष्टि पनि पोखेका छन् ।

बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न र विद्यालयको शैक्षिक कार्यक्रम निरन्तरताका लागि नेपाल सरकार, प्रदेश सरकारहरू स्थानीय सरकारहरू र अन्य सबै सरोकारवाला निकायहरू, संघसंस्था तथा आम नागरिकलाई पनि आग्रह गरेका छन् । समुदायले आ–आफ्नो ठाउँमा अनुकूल परिस्थिति निर्माणमा सहयोग पुर्‍याइदिने उनीहरूले विश्वास पनि व्यक्त गरेका छन् ।

यस्तो छ विज्ञप्ति


प्रतिक्रिया दिनुहोस