इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी, लिभरपुल रोकियो गोलरहित बराबरीमा

नौलो समाचार संवाददाता
२०७७ अषाढ ८, सोमबार मा प्रकाशित ४७६ पटक पढिएको
इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी, लिभरपुल रोकियो गोलरहित बराबरीमा

असार ८, एजेेेेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चौथो स्थानको चेल्सीले अवे मैदानमा भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो ।

रेलिगेशनको जोखिममा रहेको एस्टन भिल्लाले पहिलो हाफमा अग्रता लिएर पनि जोगाउन सकेन । ४३ औँ मिनेटमा हायुजको गोलबाट भिल्लाले अग्रता लिएको थियो ।

तर ६० औँ मिनेटमा पुलिसिकले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि ओलिभर जिरउडले गोल गरेर चेल्सीको जित निश्चित गरेका हुन् ।

जितपछि फ्र्यांक लाम्पार्डको टिम चेल्सीको ३० खेलबाट ५१ अंक भएको छ । उ तेस्रो स्थानको लेस्टर सिटी भन्दा तीन अंकले पछि र पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेड भन्दा पाँच अंकले अघि रहेको छ ।

१९ औँ स्थानमा रहेको एस्टन भिल्लाको ३० खेलबाट २६ अंक रहेको छ । उ रेलिगेशन जोनबाट माथि रहेको वेष्ट ह्यामभन्दा एक अंकले पछि परेको छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा न्यूक्यासलले शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको छ भने शीर्ष स्थानको लिभरपुल एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस