ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

नौलो समाचार संवाददाता
२०७७ अषाढ २०, शनिबार मा प्रकाशित ४६७ पटक पढिएको

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

असार २०, ललितपुर । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । काठमाण्डौ–तराई फास्ट ट्र्याकको जेरो प्वाइन्ट मानिएको खोकनाको खुदोल फाँटमा साङ्केतिक रुपमा धान रोप्न पुगेका किसानलाई प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेर हटाएको छ ।

गएको असार १५ गते पनि साङ्केतिक रोपाइँको लागि पुगेका किसानलाई प्रहरीले हटाएपछि आज काठमाण्डौका विभिन्न ठाउँबाट समेत किसानहरु विरोधको लागि खोकना पुगेका थिए ।

आज रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो, कोदालोसहित खुदोल फाँटमा पुगेका किसानले प्रहरीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको हो ।

सरकारले खुदोल फाँटलाई फास्ट ट्र्याकको जेरो प्वाइन्ट घोषणा गरेकोले जग्गाको मुआब्जा लिन आउन किसानलाई आग्रह गरेको छ तर किसानहरुले फाँटमा फास्ट ट्र्याक बनाउँदा खोकनाको सभ्यता विनाश गर्न हुने भन्दै विरोध गर्दै आएका छन् ।

किसानहरुले संयुक्त रुपमा धान रोपाइँ गर्न थालेपछि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि उनीहरुले नाराबाजी सुरु गरेका थिए ।

उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए । ‘फास्ट ट्र्याक चाँहिदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।

बाहिरी चक्रपथ, काठमाण्डौ–तराई द्रुत मार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् ।


प्रतिक्रिया दिनुहोस