प्यूठानकाे स्वर्गद्वारीमा ट्रयाक्टर दुर्घटना, सात जनाको मृत्यु, मृतक सबै रोल्पाका

नौलो समाचार संवाददाता
२०७७ श्रावण ४, आईतबार मा प्रकाशित ४९९ पटक पढिएको
प्यूठानकाे स्वर्गद्वारीमा ट्रयाक्टर दुर्घटना, सात जनाको मृत्यु, मृतक सबै रोल्पाका

साउन ४, प्यूठान। प्यूठानको स्वर्गद्वारीमा ट्रयाक्टर दुर्घटना हुदा ७ जनाकाे मृत्युु भएकाे छ । ज्यान गुमाएका सबैको परिचय खुलेको छ। मृत्यु भएका सात जना रोल्पाका हुन्।

दु्र्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै  थमन बाठा मगर,  २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय  रिमबहादुर बस्नेत,  २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढा मगर र त्रिवेणी गाउँपालिकाका निवासी  २५ वर्षीय कमल कुँवर रहेको जानकारी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले दिएका छन्। कुवँर ट्याक्टर चालक हुन्।

सूचना अधिकारी पौडेलले गोर्बधन बुढा मगरको उमेर खुल्न नसकेको बताए।

त्यस्तै सो ट्याक्टरमा सवार रोल्पाकै विशाल थापाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

ट्रयाक्टरमा ८ जना सवार रहेको पौडेलले बताए।

प्रहरीका अनुसार प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर झन्डै ५०० मिटर तल खसेको थियो।

उनीहरू सबै भिंगृ–स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरु हुन्।

दुर्घटना राति नै भएको भएपनि प्रहरी भने आइतबार विहान मात्रै घटनास्थल पुगेको सर्वसाधारणले बताएका छन् ।

‘समयमै उद्धार हुन सकेको भए यति धेरै मानिहरु मर्ने थिएनन् होला,’ उनले भने ‘घटना राति नै भयो, तर प्रहरी घटनास्थल विहान मात्रै पुग्यो।’

प्रतिक्रिया दिनुहोस