संक्रमितले भरिँदै उपत्यकाका अस्पताल

नौलो समाचार संवाददाता
२०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३६७ पटक पढिएको
संक्रमितले भरिँदै उपत्यकाका अस्पताल

साउन १६, काठमाडौँ। हालसम्म उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ९१ पुगेको छ। बुधबार मात्रै काठमाडौँमा १४ र ललितपुरमा एक गरी उपत्यकामा १५ जना संक्रमित थपिएका छन्। यस्तै मंगलबार मात्रै उपत्यकामा ५३ जनामा संक्रमण देखिएको थियो।

देशका अन्य जिल्लाहरुमा संक्रमितको संख्या घट्दै जाँदा जिल्लाका विभिन्न अस्पतालहरु खाली हुन थालेका छन्। तर पछिल्लो केही साता यता उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि उपत्यकाका कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि तोकिएका हब अस्पतालहरु भरिन थालेका छन्।

हालसम्म देशभर संक्रमितको संख्या १९ हजार २ सय ७३ रहेको छ। यसमध्ये १४ हजार २१ संक्रमित निको भएर घर फर्किसकेका छन् भने ५० जनाको मृत्यु भइसकेको छ।

यस्तै ५ हजार २ सय ३ संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपत्यका विभिन्न हब अस्पतालहरुमा १ सय ६५ जना संक्रमितको उपचार भइरहेको छ।

सरकारले साउन ७ गते साँझ लकडाउन अन्त्य भएको घोषणा गरेसँगै बिना कुनै रोकावट उपत्यका प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गइरहेको विज्ञहरुले बताएका छन्।

पछिल्लो समय संक्रमितहरुमा कोरोना भाइरसका सामान्य लक्षण देखिन थालेको चिकित्सकले बताएका छन्।


प्रतिक्रिया दिनुहोस