सिन्धुपाल्चोकको लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुग्यो

अझै २१ जना बेपत्ता
नौलो समाचार संवाददाता
२०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३५२ पटक पढिएको
सिन्धुपाल्चोकको लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुग्यो

साउन ३१, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

शनिबार थप सातजनाको शव फेलापरेसँगै मृतकको संख्या १८ पुगेको हो ।

शुक्रबार ११ जनाको शव फेलापरेको थियो ।

पहिरोमा पुरीएर अझै २१ जना बेपत्ता रहेका छन् ।

वर्षा जारी रहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

शनिबार माइला पराङ दोङ, मेकमाई दोङ, च्यामा दोङ, विमला दोङ, कविर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङको शव फेलापरेको हो ।

पहिरोको जोखिम भएका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरोबाट पीडित भएकाहरुलाई शनिबार पनि राहत सामग्री पठाइएको जानकारी दिनुभयो ।

खाद्यान्न, अस्थायी शौचालय, खानेपानीका पाइपलगायतका सामग्री लिदीमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार पनि पीडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस