म्यानमारमा सेनाले फेरी प्रदर्शनकारीमाथि गोली चलायो, ९० भन्दा बढीको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ चैत्र १५, आईतबार मा प्रकाशित ५७२ पटक पढिएको
म्यानमारमा सेनाले फेरी प्रदर्शनकारीमाथि गोली चलायो, ९० भन्दा बढीको मृत्यु

चैत १५, काठमाण्डौ। म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।

नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको हो ।

हिजो (शनिबार) सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गरेका छन्।

घटनास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले नै गोली चलाएको बताएको बीबीसीले खबर लेखेको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्न्यान गुमाइसकेका छन् ।

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका थिए । उहाँले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाएका छन् ।

प्रदर्शनकारीहरुमाथि गोली हान्ने आदेश दिएकाबारे भने उनले केही खुलाएका छैनन् । तर सेना प्रमुख लाइङले प्रदर्शनकारीहरुले नै गोली चलाउन थालेको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस