मेलम्चीको पानी आजदेखि काठमाडौंका घर घरमा

सुरुमा दैनिक ४ करोड लिटर पानी छोडिने
नौलो समाचार संवाददाता
२०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३२६ पटक पढिएको
मेलम्चीको पानी आजदेखि काठमाडौंका घर घरमा

चैत १५, काठमाडौं । काठमाडौं उपत्यकाका धारामा आजदेखि मेलम्चीको पानी आउने भएको छ । सुन्दरीजल आइपुगेको पानी धारामा आउने भएपछि उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् ।

सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आजदेखि राजधानीका धारामा पठाइनेछ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट धारामा पानी वितरण गरिनेछ । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गर्न लागिएको केयुकेएलले जनाएको छ ।

आजबाट सुरु हुने परीक्षण वितरण कति समयका लागि हो भन्ने आयोजनाले प्रष्ट पारेको छैन । काठमाडौंमा सुरुमा ४ करोडदेखि साढे ६ करोड हुँदै साढे ८ करोड लिटर मेलम्चीको पानी झर्नेछ। वैशाखसम्म मात्रै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौं आइपुग्नेछ। ट्रायलको क्रममा पहिलो दिनमै सबै ठाउँमा पानी नआउन पनि सक्छ ।

मेलम्चीबाट सुन्दरीजल आइपुगेको पानी ट्रिटमेन्ट प्लान्टमा पठाउने कामको शुक्रबार खानेपानी मन्त्री मणिचन्द्र थापाले शुभारम्भ गर्नुभएको थियो । प्रशोधन केन्द्रको निरीक्षणमा पूर्वमन्त्री बिना मगर सुन्दरीजल पुग्नुभएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ, भने उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ।


प्रतिक्रिया दिनुहोस