यो वर्षको हिउँदमा पनि औसतभन्दा धेरै पानी पर्ने

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ८, सोमबार मा प्रकाशित ४८६ पटक पढिएको
यो वर्षको हिउँदमा पनि औसतभन्दा धेरै पानी पर्ने

कात्तिक ८, काठमाडौं। यो वर्षको हिउँदमा पनि औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

विशेषगरी प्रदेश-१ का तराईका जिल्ला, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा पानी पर्ने क्रम बढ्दै गएकाले हिउँदमा पानी पर्ने क्रम बढ्नु सामान्यजस्तै बन्दै गएको छ । केही वर्षयता नियमित रुपमा हिउँदमा पानी क्रम नबढेको भए पनि एक/दुई वर्ष बिराएर वा छिटो छिटो पानी बढी पर्ने क्रम दोहोरिन थालेको उहाँले बताउनुभयो।

अक्टोबर, नोभेम्बर महिनामा वा हिउँदमा ठूलो पानी पर्नु बिरलै घटना मानिन्छ । तर केही वर्षयता यसको क्रम छिटोछिटो हुँदै जानुमा जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने उहाँले बताउनुभयो ।

केही दिन अगाडि पनि ठूलो वर्षा भयो । केही वर्षयता अक्टोबर नोभेम्बरको तथ्याङ्क हेर्ने हो भने पश्चिममा धेरै पानी पर्ने गरेको देखिएको छ । यो समयमा पश्चिमी वायु सक्रिय हुने भएकाले पश्चिमी क्षेत्रमा बढी पानी परेको हुन सक्ने मौसमविद् कँडेलले बताउनुभयो ।

समग्रमा गएको तीस वर्षको तथ्याङ्कलाई हेर्दा सुक्खा समयमा पानी पर्ने क्रम केही बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोबर र नोभेम्बर महिनामा सरदरमा ७४ मिलीमिटर पानी पर्नु पर्ने हुन्छ ।

यो ३० वर्षको अन्तराललाई विश्लेषण गरेर बनाइएको औसत वर्षाको दर भएको विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले बताउनुभयो । तर नोभेम्बर सुरु नै नहुँदा अर्थात अक्टोबरको २३ तारिखसम्ममै यसपालि २५६.६ मिलीमिटर पानी परेको छ ।

१२ वर्षको अन्तरालमा यो समयमा यति ठूलो पानी परेको मौसमविद्ले बताएका छन् । बेमौसमी वर्षा र हिउँदमा बढी पानी पर्ने कारणले धेरै क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरण गर्न पूर्वतयारी र जनचेतनामा जोड दिनुपर्ने मौसमविद्को भनाइ छ ।

यसपालिको बर्खामा पनि औसतभन्दा धेरै वर्षा भएको थियो ।


प्रतिक्रिया दिनुहोस